काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति इरानविरुद्ध तय गरिएको प्रस्तावित हवाई तथा बमबारी आक्रमण रद्द गरिएको घोषणा गरेका छन् । यसअघि उनले इरानमाथि भीषण बमबारी गर्ने र उसको तेल निर्यातको मुख्य केन्द्र ‘खर्ग टापु’ कब्जा गर्ने धम्की दिएका थिए।
तर उनले आफ्नो सामाजिक सञ्जाल'ट्रुथ सोसल'मा एक स्टाटस लेख्दै उक्त हमला रोकेको जानकारी दिएका छन्, उनले भनेका छन्, 'इरानको शीर्ष नेतृत्वसँगको वार्ता उच्च तहमा पुगेको र यसले स्वीकृति पाएको कुरालाई ध्यानमा राख्दै, अमेरिकी राष्ट्रपतिको हैसियतमा मैले आज साँझ इरानविरुद्ध हुने भनिएको आक्रमण र बमबारी रद्द गरेको छु। वार्ता र अन्तिम बुँदाहरूमा सम्बन्धित सबै पक्षले सहमति जनाइसकेका छन्।'
यसैबीच, ओमान नजिकै भारतीय चालक दल रहेका जहाजहरूमाथि अमेरिकी जलसेनाले गरेको आक्रमणलाई लिएर भारतले कडा विरोध जनाएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार, अमेरिकी नौसेनाले भारतीय चालक दल सवार तेस्रो जहाज 'एमटी जलवी' माथि पनि आक्रमण गरेको छ। उक्त जहाजमा सवार सबै २० जना भारतीय नागरिक सुरक्षित रहेको र उनीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
भारतले यस विषयलाई लिएर अमेरिकी राजदूतलाई कडा स्पष्टीकरण सोध्दै जहाजी मार्गमा भइरहेका यस्ता आक्रमणहरू तत्काल रोकिनुपर्ने माग गरेको छ।


0 comment