काठमाडौं - भारतको उत्तर प्रदेशस्थित बाँदा जिल्लामा गत शुक्रबार साँझ एक बुवाले आफ्नी १९ वर्षीया छोरी शिवानीको प्रहरी कार्यालय (थाना) भित्रै चक्कु प्रहार गरेर हत्या गरेपछि घटनालाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन् ।

प्रहरीले शिवानी र ललित वर्मालाई मध्य प्रदेशको बरौंधाबाट पक्राउ गरी थानामा ल्याएर सोधपुछ गरिरहेको बेला यो घटना भएको हो । बाँदा प्रहरी प्रमुख पलाश बंसलका अनुसार घटनाको अनुसन्धानका क्रममा थानाध्यक्ष अजीत प्रताप सिंह, एक सब–इन्स्पेक्टर (एसआई) र एक महिला प्रहरीलाई लाइन हाजिर गरिएको छ । शिवानीले गत मे १८ मा घर छोडेर आफ्नो रोजाइका युवक ललित वर्मासँग विवाह गरेकी थिइन् । युवती ओबीसी समुदायकी थिइन् भने युवक दलित समुदायका थिए ।

प्रहरीका अनुसार, शिवानीलाई सुरक्षित रूपमा फेला पारेर थानामा ल्याइएको थियो । कानुनी प्रक्रियाअनुसार उनका आमा बुबालाई पनि खबर गरिएको थियो । थानामा काउन्सिलिङ भइरहेको बेला शिवानीले आफू बालिग भएको र ललितसँगै बस्न चाहेको बताएकी थिइन् । बदौसा थानाध्यक्ष अजीत प्रताप सिंहका अनुसार, जब बुवाले छोरी आफ्नो कुरा नमानेको महसुस गरे, उनले खल्तीबाट चक्कु निकालेर शिवानीमाथि आक्रमण गरे । गम्भीर घाइते भएकी शिवानीलाई तत्काल अस्पताल लगिएको थियो तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।