काठमाडौं - अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले अमेरिकी सैन्य कारबाहीमा कुख्यात आपराधिक समूह ट्रेन डे अरागुआका शीर्ष नेता हेक्टर रुस्थेनफोर्ड गुरेरो फ्लोरेस (उर्फ ‘निन्यो गुरेरो’) मारिएको बताएका छन् । गुरेरोलाई भेनेजुएलाको जेलभित्र जन्मिएको एउटा गिरोहलाई अन्तर्राष्ट्रिय आपराधिक सञ्जालमा रूपान्तरण गर्ने मुख्य योजनाकार मानिन्थ्यो । उक्त संगठनको प्रभाव ल्याटिन अमेरिका, अमेरिका र स्पेनसम्म फैलिएको थियो ।

ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै गुरेरो ‘छिटो र घातक सैन्य आक्रमण’ मा मारिएको बताएका हुन् । उनले सार्वजनिक गरेको भिडियोमा हरियो छाना भएको एउटा भवन ठूलो विस्फोटसँगै धुवाँको मुस्लोमा हराएको देखिन्छ ।

ट्रम्पका अनुसार यो कारबाही भेनेजुएला सरकारसँगको समन्वयमा सम्पन्न गरिएको थियो । अमेरिकी रक्षा सचिव पिट हेगसेथले पनि उक्त अभियान भेनेजुएलाका सुरक्षा निकायहरूसँग मिलेर सञ्चालन गरिएको बताएका छन् । भेनेजुएलाको सञ्चार मन्त्रालयले संयुक्त अभियानमा गुप्तचर सूचना आदानप्रदान र विशेष प्राविधिक सहयोग समावेश रहेको जनाएको छ । मन्त्रालयका अनुसार अभियानका क्रममा आपराधिक समूहका सदस्यहरूसँग झडप हुँदा गुरेरो मारिएका थिए ।