काठमाडौं - सुन्दा अच्म्म लाग्छ होला ? डोटी सायलकी सीता विकका तीन बच्चाहरु छन्  सबै ति बच्चाहरु उनले घरमै जन्म दिइन। उनी भन्छिन अहिले सम्म मैले बर्थिङ सेन्टरनै देखेको छैन अनि कसरी जानु स्वास्थ्य संस्था ? सबै मेरा बच्चाहरु घरमै जन्मेका हुन् ।

यस्तै बेथा बडिकेदार गाउँपालिका वडा नम्बर २ गतपसेराकी दीपा विक र गतपसेराकी पद्मा विक को पनि छ, यि दुबैले बर्थिङ सेन्टर देखेका छ्न् नत उनिहरुको ठाउमा बर्थिङ सेन्टर छ । गतपसेराकी पद्मा विकले सात बच्चा घरमै जन्माएको बताइन्, ६ भाइ छोरा एक छोरी सबै घरमै जन्मेका हुन् । उनले भनिन् विकट ठाउँ छ, गाडी मोटर चल्ने भए अस्पताल लैजान्थ्यौं ।

बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकामा स्वास्थ्य संस्थाका सबै कर्मचारी करारमा रहेका र उनीहरुको म्याद नथपिएका कारण खापर गाउँपालिकामा वडा नम्बर १ मुक्तिकोटकी कार्तिका बिकले बाटोमै बच्चा जन्माएकी थिइन्। परिवारले उनलाई समयमा नै स्वास्थ्य संस्थामा लगेका थिए तर स्वास्थ्य संस्थामा कोही पनि नभएपछि फर्कने क्रममा बाटोमा नै बच्चालाई जन्म दिएकी थिइन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सुत्केरी हुने दर ९३ प्रतिशत रहेको छ। निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशीले गत आर्थिक वर्ष (२०७८/७९) मा सात प्रतिशत महिला घर तथा बाटोमै सुत्केरी भएको बताए। डाक्टर जगदिश जोशी भन्नु हुन्छ, स्वास्थ्य संस्था तथा अस्पतालमा सुत्केरी हुने दरमा सुधार हुँदै आएता पनि सतप्रतिशत पुर्याउन सकेका  छैनौ । प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सुत्केरी दर ७१ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा बृद्धि भई ८३ प्रतिशत पुगेको थियो। 

यस्तैगरी , आर्थिक वर्ष २०७८/७९ मा बझाङमा ८४, बाजुरामा ८९ प्रतिशत, दार्चुलामा ८७, बैतडीमा ८२, डडेल्धुरामा ९६ र अछाममा ८४ प्रतिशत रहेको छ। प्रदेशकै सुगम जिल्ला रहेको कैलालीमा संस्थागत सुत्केरी दर एक सय एक प्रतिशत रहेको भए पनि अझै पनि घरमै सुत्केरी हुने गरेको निर्देशनालयले जनाएको छ ।

सुरक्षित मातृत्व र शिशुको सुरक्षा तथा हेरचाहका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं रुपैंयाँ लगानी भइरहेको छ तर दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीहरुका लागि भने अझै काम गर्न बाँकी रहेको देखिन्छ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा प्रत्येक महिलालाई प्रसूतिकर्मीबाट आवश्यक परामर्श, गर्भवती तथा प्रसूति सेवा, सुत्केरी पश्चातको गर्भ निरोधको सेवा पाउने अधिकार भएता पनि तर व्यवहारमा भने त्यस्तो छैन । जिल्लाका पालिकाहरुमा स्वास्थ्य संस्था, जनशक्ति र उपकरण भए पनि महिलामा जनचेतनाको अभाव र आर्थिक कारणको अभावले अझै पनि महिलाहरु घरमै सुत्केरी हुने गरेको पाइन्छ ।