काठमाडौं - अष्ट्रेलियाको न्यु साउथ वल्सको बन्डाइ बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको ज्यान गएको छ।

मृतकहरूको उमेर १० देखि ८७ वर्षसम्म रहेको समाचार छ । हानुक्का पर्वको सुरुआतको अवसरमा आयोजना गरिएको एक कार्यक्रमका क्रममा यो आक्रमण भएको हो।

प्रहरीले यस घटनालाई आतङ्कवादी हमला मानेर अनुसन्धान गरिरहेको जनाएको छ।

आक्रमणकारी दुई जना रहेका थिए । उनीहरु बुबा र छोरा थिए ।  ५० वर्षीय बुबाको घटनास्थलमै मृत्यु भएको छ भने २४ वर्षीय छोरा गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

प्रधानमन्त्री एन्थोनी अल्बानिजीले यस आक्रमणलाई पूर्ण रूपमा दुष्टताले भरिएको कार्य भन्दै यहूदी समुदायलाई जानीजानी लक्षित गरिएको बताएका छन्।

ब्रिटिश मूलका रब्बी एली श्लाङ्गर पनि यस आक्रमणमा मारिएका मध्ये एक रहेको कुरा उनका परिवारले  बताएको बीबीसीले उल्लेख गरेको छ ।

एक प्रत्यक्षदर्शीले बीबीसीलाई आफूले अत्यन्तै प्रिय साथी गुमाएको बताए,जो हालै मात्र फेरि बुबा बनेका थिए।

अर्का एक युवकले गोलीबारी अनन्त समयसम्म चलेको जस्तो महसुस भएको बताए।