काठमाडौं - पोखरामा आयोजना गरिएको ‘आइटिएफ वल्र्ड टेनिस टुर सर्किट-२’ प्रतियोगितामा नेपालकी शिभाली गुरुङले दोहोरो उपाधि जितेकी छन् ।
पोखरामा आज सम्पन्न सर्किट २ को ‘गल्र्स एकल’तर्फको फाइनलमा ताइपेइकी के–ची सुलाइ सोझो सेटमा पराजित गरी उनले उपाधि हात पारेकी हुन् । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा पनि दबदबा कायम गर्दै ६–१ ले जितिन् ।
शिभालीले यसअघि सर्किट १ को उपाधिसमेत आफ्नो पोल्टामा पारेकी थिइन् । उनले १४ वर्षको उमेरमा ‘गल्र्स सिंगल्स’ र ‘डबल्स’मा सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै ७५ अङ्कसमेत बटुल्न सफल भएकी हुन् ।
यसैगरी ‘गल्र्स डबल्स’मा पनि शिभाली र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्यूजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए ।
‘ब्वाइज सिंगल्स’मा ताइपेइका नं १ सिडिङ खेलाडी टिङ हो याङले जितेका छन् । १–१ सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । खेलमा पहिलो सेट युल होले ४–६ ले जिेतका थिए भने दोस्रो सेट ६–४ ले टिङ होले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेट चलिरहँदा युल हो रिटायर्ड हर्टहुदै मैदान छोडेका थिए ।
यस्तै, ‘ब्वाइज डबल्स’मा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि जितेका थिए । पोखरामा दुई सातासम्म लगातार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, नेपाल टेनिसका सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नवीन चालिसे, नेपाल नं १ टेनिस खेलाडी प्रदीप खड्का, आइटिएफ रेफ्रि प्रवीनकुमार नायकले पुरस्कार वितरण गर्नुभयो ।


0 comment