काठमाडौं - भारतको गोवास्थित एक नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ ।
गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाको ज्यान गएको थियो।
ज्यान गुमाउने नेपालीहरुमा सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा रहेको गोवा प्रहरीले जनाएको छ ।
उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ ।
सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी भई ग्यास सिलिण्डर पनि विष्फोट हुँदा आगो भयावह भएको थियो ।
क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । नियम विपरीत नाइट क्लब सञ्चालन अनुमति दिएको आरोपमा गोवाको स्थानीय सरकारका तीन वरिष्ठ सरकारी अधिकारी पनि निलम्बनमा परेका छन् ।
मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गोवा सरकारले गरेको छ ।



0 comment