काठमाडौं - जुम्लाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। जुम्ला चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँबाट १६ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक निर्देश बरालको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्थानीय २५ वर्षीय केशव देवकोटा र स्थायी वतन गुठिचौर गाउँपालिका-४ भई मामाघरमा बस्दै आएका १७ वर्षीय नवीन न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।

देवकोटाको घरको कोठामा प्लास्टिकमा बेरेर पोका पारेर राखिएको ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद भएको थियो । उक्त पदार्थलाई मान्यता प्राप्त तराजुमा नापतौल गर्दा १६ ग्राम ४६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा देवकोटाले उक्त पदार्थ मुखमा हालेर निलेपछि उनको शरीरमा लागुऔषधको मात्रा धेरै भएको देखिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको इमर्जेन्सीमा भर्ना गरिएको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।

नवीन न्यौपानेलाई भने आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।