काठमाडौं - बंगालको खाडीमा विकसित हुनसक्ने चक्रवात (समुद्री आँधी) को कारण बिहीबारदेखि ४ दिनसम्म नेपालमा भारी वर्षाको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले भारी वर्षाको संभावना लगभग पक्का जस्तै देखिएको बताए।
बिहीबारदेखि सोमबारसम्म (८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको संभावना रहेको उनको भनाइ छ। करिब आधादर्जन मौसम पूर्वानुमान मोडेलहरूको अवलोकन गर्दा सबैले पानी पर्ने देखाएको पोखरेलले बताए। ‘मौसम प्रणाली छिटोछिटो सरेमा धेरै समय पानी पर्दैन,’ उनले भने, ‘तर, अहिलेको अवस्था हेर्दा तीन–चार दिनसम्म पानी पर्ने देखिएको छ।’ लगातार धेरै दिन र धेरै समय पानी पर्दा क्षति पनि नराम्रो गर्ने संभावना रहेकाले बेलैमा सचेत हुन उनले सुझाव दिए।
उनका अनुसार भारतको उत्तरपश्चिमतिर मनसुन सकिएको छ। तर, त्यहाँबाट सुक्खा हावा आइरहेको र बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई उक्त हावाको दबाबले रोकीदिने भएकाले नेपालतिर सबैभन्दा धेरै वर्षा गराउने गरेको पोखरेलले बताए।
कतिपय पूर्वानुमान मोडेलहरूले ५०० मिमीभन्दा धेरै वर्षा हुने देखाएका छन्। यसको प्रभाव नेपालैभरि देखिए पनि ३ वटा मोडेलले लुम्बिनी प्रदेशमा भारी वर्षा गराउने देखाएकाले त्यहाँ सतर्क हुनुपर्ने पोखरेलले बताए। ‘हालसम्म बंगालको खाडीमा चक्रवातको विकास नभए पनि नेपालमा न्यूनचापीय प्रणालीले पनि पटक पटक भारी वर्षा, बाढी–पहीरो, डुबान निम्त्याएको छ,’ उनले भने, ‘मनसुनको अन्त्यमा हुन लागेको यस वर्षाले भिजिसकेको जमिनलाई थप नाजुक बनाउँछ। त्यसैले पूर्वतयारी आवश्यक छ। समयमा जोखिम पहिचान गरेर सरकारले काम गर्नुपर्छ।’
पोखरेलका अनुसार सामान्यत चक्रवात मनसुन सकिएपछि सुरु हुन्छ। यसको सुरुवात अक्टोबर महिनामा हुन्छ । तर, यतिबेला सेप्टेम्बरमा चक्रवात बन्ने प्रक्रियामा रहेको छ। ‘बंगालको खाडीमा बन्दै गरेको चक्रवात भारतमा (जमिनमा पुग्ने समय) ल्यान्डफल भए पनि यसको असर नेपालसम्म पुग्छ,’ उनले भने, ‘ यस्तो समयमा न्यून चापीय प्रणालीले आद्र्रता धेरै ल्याएको हुन्छ। त्यसले अत्यधिक वर्षा गराइदिन्छ।’
जल तथा मौसम विज्ञान विभागले चक्रवातको विकास भएको जस्तो देखिएको र निरन्तर अनुगमन गरेर चाँडै विशेष बुलेटिन प्रकाशित गर्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने भन्छन्, ‘अहिलेको अवस्था हेर्दा बंगालको खाडीमा चक्रवात बन्ने जस्तो देखिन्छ तर अहिले नै केही भन्न सकिन्न। पानी पर्ने सम्भावना भए पनि कहाँ, कति, कसरी पर्छ भन्नेमा अहिले नै भन्न सकिन्न। मोनिटरिङ गर्दै छौं। अझै ४,५ दिन बाँकी छ।’
मनसुन बाहिरिने बेलामा पश्चिमी वायुले धकेलिरहेको हुन्छ। यताबाट जाने मनसुनी प्रणालीहरू र न्यून चापीय प्रणालीहरू एकठाउँमा जम्मा भएर बस्छन्। त्यसले गर्दा पानी धेरै पर्ने संभावना हुन्छ। अन्य समयमा मनसुन प्रणालीहरू यताउता सरिरहेको हुन्छन्। तर, एकै ठाउँमा मनसुनी प्रणालीहरूलाई ब्लक गरीदिएपछी वर्षा गराउँछ। प्रायः मनसुन बाहिरिने बेला यस्तै हुने गरेको लामिछानेले बताए । नेपालमा सामान्यत अक्टोबर २ मा मनसुन बाहिरिन्छ। तर, कहिलेकाहीँ अक्टोबरको दोस्रो सातासम्म पनि लम्बिने गर्छ।
भारतको उत्तरप्रदेश र बिहारमा अत्यन्त भारी वर्षा हुने र यसले २५ देखि २८ सेप्टेम्बरसम्म प्रभाव पार्ने अल इन्डिया वेदरले जनाएको छ। बंगालको खाडीमा सुरु हुनेसक्ने चक्रवातका कारण भारतमा अत्यन्त धेरै प्रभाव पार्ने र नेपालसम्म प्रभाव देखिने उसले बताएको छ।


0 comment