काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

अब लुम्बिनीले बिहीबार हुने दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो। लिग चरणमा तेस्रो भएको काठमान्डु भने एलिमिनेटरमै पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ।

लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३४ बलमा २ छक्कासहित ३३ रन बनाए। उनका ओपनिङ जोडी दिनेश अधिकारी ४ रनमा आउट भए पनि सर्टले कप्तान रोहित पौडेल (२५ बलमा १८ रन)सँग मिलेर दोस्रो विकेटका लागि २९ रनको साझेदारी गरे।

सन्दीप जोराले २३ रन, निरोशन डिकवेलाले १४ रन जोडे। काठमान्डुको तर्फबाट सन्तोष यादवले २ विकेट, जबकि करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले १–१ विकेट लिए।

काठमान्डुको कमजोर ब्याटिङ प्रदर्शन

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.१ ओभरमै १११ रनमा अलआउट भएको थियो। काठमान्डुको इनिङ्सको अवस्था सुरुदेखि नै कमजोर रह्यो। लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले उत्कृष्ट बलिङ गर्दै काठमान्डुलाई १४ रनमै ४ विकेटमा समेटिदिए।

काठमान्डुका लागि आठौँ नम्बरमा आएका सन्तोष यादवले १७ बलमा १ छक्कासहित सर्वाधिक २३ रन बनाए। जोन सिम्पसन र आदिल आलमले समान १८–१८ रन जोडे। भीम शार्कीले १४ रन बनाए। पावर प्लेमा काठमान्डुले ४ विकेट गुमाउँदै २९ रन मात्र जोडेको थियो।

५२ रनमा ७ विकेट पतन भएपछि आदिल आलम र सन्तोषले इनिङ्स सम्हाल्ने प्रयास गरे तर शेर मल्लले आदिललाई बोल्ड गर्दै साझेदारी तोडे।

लुम्बिनीका बलरहरूको दमदार प्रदर्शन

लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान ३–३ विकेट लिए। शेरले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए र अहिले सम्मको तालिकामा १३ विकेटसहित तेस्रो स्थानमा उक्ले। उनभन्दा अघि अविनाश बोहरा (१६ विकेट) र सन्दीप लामिछाने (१५ विकेट) छन्। रुबेन ट्रम्पलम्यानले ३.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने अभिशेष गौतमले १ विकेट थपे।