काठमाडौं - उत्तर–पूर्वी जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार गए राति ५० किलोमिटर गहिराइमा आएको उक्त भूकम्प आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा केन्द्रित थियो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपनि जुन पछि हटाइएको छ। अधिकतम ७० सेन्टिमिटरसम्मका छालहरू देखिएको जनाइएको छ।
भूकम्पका कारण केही रेल सेवा स्थगित गरिएको छ भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आगामी केही दिनमा अझ शक्तिशाली परकम्प आउन सक्ने चेतावनी दिँदै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
भूकम्पबाट प्रभावित नागरिकलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले दैनिक भूकम्प सुरक्षा अभ्यासलाई पुनः सुनिश्चित गर्न भनेका छन् ।
करिब ९० हजार बासिन्दालाई घर खाली गर्न आदेश दिइएको छ।
आओमोरी प्रान्तीय सरकारले करिब २ हजार ७ सय घरमा विद्युत् आपूर्ति बन्द भएको जनाएको छ। पूर्वी जापान रेल सेवाले पनि उत्तर–पूर्वी तटीय क्षेत्रमा पर्ने केही रेल सेवाहरू स्थगित गरेको छ।
जापान सरकारले प्रधानमन्त्रीको संकट व्यवस्थापन केन्द्रमा प्रतिक्रिया कार्यालय स्थापना गरी आपतकालीन टोली गठन गरेको मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले जानकारी दिएका छन् ।
जापानी अधिकारीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई फुकुशिमा आणविक केन्द्रमा पनि कुनै समस्या नदेखिएको जानकारी गराएका छन्।
सन् २०११ मार्च ११ मा जापानको पूर्वी तट नजिक ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो । जसका कारण फुकुशिमा आणविक केन्द्र क्षतिग्रस्त भएको थियो। सो भूकम्पपछि आएको सुनामीले होन्सु मुख्य टापुमा व्यापक क्षति पुर्याउँदै १८ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो र धेरै सहरहरूमा क्षति पुगेको छ ।



0 comment