काठमाडौं - साविकका च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेलमा हार ब्यहोरेपछि पाँचौँ खेलमा पहिलो जित निकाल्दै ‘प्लेअफ’मा पुग्ने गणितीय सम्भावना जोगाएको छ।
चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य जनकपुरले १५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो।
जनकपुरका ओपनर मज सदाकले ६३ रनको प्रभावशाली पारी खेले भने कप्तान अनिल साह ६१ रनमा अविजित रहे। त्यस्तै, जन निकोल लोफ्टाइ इटनले ११ रन, आसिफ शेखले १८ रन योगदान गरे। अन्त्यतिर आदित्य महतले ७ बलमा १८ रन प्रहार गर्दै अविजित रहेर जित सुनिश्चित गरे।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो।
चितवनलाई उचाइमा पुर्याउन ओپنर डेभिड मलानले ८० रन र अर्का ओपनर अर्जुन साउँदले ५२ रनको अर्धशतक प्रहार गरे। यी दुईबीच पहिलो विकेटका लागि ११२ रनको साझेदारी भयो।
मध्यक्रमबाट आएका कप्तान कुशल मल्लले १४ बलमा अविजित ३० रन जोडे। जनकपुरका लागि मज सदाक, अनिल साह, रुपेश सिंह र जन निकोल लोफ्टाइ इटनले समान १–१ विकेट लिए।


0 comment