काठमाडौं -काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन विभागले वडा नम्बर ३० पञ्चकुमारी मार्ग जनगोरेटोमा विछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षण गरेको छ । प्रणाली परीक्षणका लागि खटिएका काठमाडौँ बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक र महानगर प्रहरी बलबाट खटिएका जनशक्तिले ३ हजार लिटर र ३ हजार ५ सय लिटर पानी भण्डारण क्षमता भएका २ वटा दमकलको प्रयोग गरेका थिए । त्यस क्रममा जनप्रतिनिधि, विभागका अधिकारी र स्थानीयबासीले परीक्षणको अवलोकन गरेका थिए ।
महानगरपालिकाको केन्द्र, विपद व्यवस्थापन विभागबाट कार्यान्वयनमा आएको ड्राइराइजर विछ्याउने योजना अन्तर्गत वडा नम्बर २, ३, १४, १६, १९, २६ र ३० का विभिन्न गल्ली गरी १४ ठाउँमा ड्राइराइजर राखिसकिएको छ । १ करोड १७ लाख २ हजार ४५० रुपियाँ लागतमा राखिएको यो कार्यक्रमबाट महानगरपालिका भित्र २ हजार ८९६ मिटर लामो ड्राइराइजर प्रणाली स्थापना भएको छ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको छ । यो प्रणालीको परीक्षण जाँचका क्रममा आजबाट वडा नम्बर ३० बाट परीक्षण थालिएको हो ।
केन्द्रबाट जोडिएको प्रणालीसँगै वडाहरुले वडाकै बजेटबाट पनि प्रणाली जडान भएका छन् । भूमिगत फायर ड्राइराइजर, साँघुरा गल्ली जहाँ दमकल जान सक्दैनन् । त्यस्ता ठाउँमा सम्भावित आगलागी नियन्त्रण गर्न जडान गरिएको, पानी पुर्याउने प्रणाली हो । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।
आगलागीका बेला मात्र पानी प्रवाह हुने प्रविधि ड्राइराइजर हो । यदि त्यसमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।




0 comment