काठमाडौं - प्रधानमन्त्रीसँग भेटेर मागबारे छलफल गर्न सिंहदरबार पुगेको मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहलाई प्रहरीले आज पनि प्रवेश अनुमति नदिई बाहिरै रोकिदिएको छ।
मंगलबार दिउँसो करिब १२ बजे सिंहदरबार पुगेको समूहले भित्र जान प्रयास गरेपछि सुरक्षार्थ खटिएका प्रहरी र सेनाले उनीहरूलाई प्रवेशद्वारमै रोकेका हुन्। निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकाले टोलीलाई हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
समूहलाई अनामनगरस्थित भाटभटेनी नजिकै पनि प्रहरीले परसम्म हटाएको जनाइएको छ। सोमबार प्रधानमन्त्रीसँग भेट नपाएपछि जेनजी समूहले मागपत्र सिंहदरबार दक्षिण गेटमै टाँसेर फर्किएको थियो। त्यसपछि प्रधानमन्त्रीसँग पुनः भेट गर्ने उद्देश्यले आज सिंहदरबार पुगेको समूहलाई फेरि प्रवेश नदिइएपछि उनीहरू बाहिरै रोकिएका हुन्। सिंहदरबार वरपर आज पनि ठूलो संख्यामा नेपाल प्रहरी र नेपाली सेनाको सुरक्षा व्यवस्था कडा पारिएको थियो।




0 comment