काठमाडौं - प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।
विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले असंवैधानिकरूपमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेस गरिएको जानकारी दिए। ‘असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन दिएका छौं,’ बर्तौलाको भनाइ छ।
२३ र २४ भदौमा चलेको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्यागेका थिए। ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा २७ भदौमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रधानमन्त्री कार्कीको सिफारिसमै राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई निरन्तर असंवैधानिक भन्दै सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेको हो।




0 comment