काठमाडौं - सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन्। बैठकले अतिरिक्त नायव महानिरिक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनको हरित ऊर्जा सम्बन्धी परियोजनाका लागि २५ दशमलव ५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने भैरहवाका विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर रु २० रहेकोमा त्यसलाई घटाएर रु ५ कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्रै रहनेगरि केहि कार्यालयहरुको पद मिलान तथा दरबन्दी थपघट र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पुनले बताए ।
जेनजी आन्दोलनमा घाइतेहरुका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा खटाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए । बैठकले भूमिसम्बन्धी नवौ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।




0 comment