काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबार भएको पहिलो खेलमा विराटनगर किङ्सले साबिक च्याम्पियन जनकपुर बोल्टसलाई ९ रनले पराजित गर्दै लगातार तेस्रो जीत हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्रै जोड्न सक्यो। विराटनगरले यसअघि काठमाडौं गुर्खाज र पोखरा एजेन्जर्सलाई पराजित गरिसकेको छ। लगातार तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले तालिकामा बलियो स्थान जमाएका छन्।

विराटनगरका कप्तान सन्दीप लामिछाने खेलका हाइलाइट बने। उनले ४ ओभरमध्ये मात्र ११ रन खर्चेर ४ विकेट हात पारे। उनले ओपनर लाहिरु मिलन्था र कप्तान अनिल शाहजस्ता महत्वपूर्ण विकेटसमेत लिए। सूर्य तामाङले आशिफ शेख र सञ्जय कृष्णमूर्ति महत्वपूर्ण समयमा आउट गराए। मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेले पनि समान १–१ विकेट लिए।

जनकपुरका टप–अर्डर ब्याटरहरु आज चल्न सकेनन्। ३ विकेट चाँडै गुमेपछि इन्पिङ्स सम्हाल्न जान निकोल लोफ्टी–इटन आएका थिए।

इटनले टीमलाई उकास्ने प्रयास गरे पनि १९औँ ओभरमा रन आउट हुनुपर्‍यो। उनले ३० बलमा ४ चौका र १ छक्कासहित ४१ रन बनाए यही जनकपुरका सर्वोच्च रन पनि थियो। ओपनर लोकेश बमले २२ बलमा २ चौका र १ छक्कासहित २३ रन जोडे भने सञ्जय कृष्णमूर्तिले १२ बलमा २० रन बनाए।