काठमाडौं - आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ। 

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । 

नेपालले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनायो। 

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाए।

नेपालको लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। 

ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए। 

हालसम्म अपराजित ओमानलाई घरेलु मैदानमै हराएपछि नेपालले जारी प्रतियोगिताको ट्रफी जित्ने सम्भावना बलियो बनाएको छ। अब ओमानले शुक्रबार जापानसँग खेल्नेछ। नेपालले पनि शुक्रबार सामाओसँग खेल्नेछ। 

हिजो दिउँसो भएको खेलमा यूएईले सामाओलाई पराजित गर्दा शीर्ष २ मा रहेका नेपाल र ओमान दुवै टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाइसकेका छन्। 

यो क्षेत्र छनोटबाट अब १ टिमले भारत र श्रीलंकामा हुने विश्वकपमा स्थानमा बनाउनेछन् ।