काठमाडौं - नेपालले लगातार दोस्रोपटक आईसीसी टी–२० विश्वकपमा स्थान बनाएको छ। ओमानमा जारी एसिया–इष्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटको सुपर सिक्स चरणमा ओमानसँगको खेलअघि नै नेपाल र ओमान विश्वकपका लागि छनोट भएका हुन्।
बुधबार कतारले जापानलाई ३ विकेटले र युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमानको विश्वकप यात्रा पक्का भएको हो। सुपर सिक्समा दुवैले लगातार दुई खेल जित्दै ६ अंक जोडेका छन्।
नेपालले समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा युएई र कतारलाई पराजित गरेको हो। अब नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआसँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा दोस्रोपटक विश्वकप खेलेको थियो। अब नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ।
सन् २०२५ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा २० राष्ट्र सहभागी हुनेछन्। नेपाल १८औं टिमको रूपमा छनोट भएको हो।
गत संस्करणमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, भारत, र श्रीलंका सोझै छनोट भएका थिए। क्षेत्रीय छनोटबाट क्यानडा, नेदरल्यान्ड्स, इटाली, जिम्बावे, नामिबिया र अब नेपाल तथा ओमानले विश्वकप खेल्ने छन्।


.jpg)

0 comment