काठमाडौं: चार जना प्रहरी नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएसँगै नेपाल प्रहरीमा डीआईजीको दरबन्दी खाली भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चार जना डीआईजी बढुवा सिफारिस भएसँगै सो स्तरका पद रिक्त भएका हुन्। रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा गृह मन्त्रालयले गृहकार्य थालेको बताइएको छ।

अहिले दसैंको बिदा भएकाले पर्वपछि मात्र बढुवा समिति बैठक बसेर टुंगो लगाइने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । गत १२ असोजमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजी बढुवा सिफारिस गरिएको थियो। उनीहरूलाई दसैं पश्चात दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरीले जनाएको छ।

चार डीआईजीका लागि हाल करिब एक दर्जन प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रतिस्पर्धामा छन्। बढुवाको दौडमा पहिलो नम्बरमा शारदाप्रसाद चौधरी छन् भने दोस्रो नम्बरमा विश्व अधिकारी छन्। जेनजी आन्दोलनका क्रममा बल प्रयोग गरेको आरोप लागेपछि अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी अलग गरेर हेडक्वार्टरमा राखिएको थियो।

त्यसपछि भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशमशेर राणा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्जवल महर्जन बढुवाको प्रतिस्पर्धामा रहेका छन्।