काठमाडौं - हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबैदाको गाजा सिटीमा भएको हवाई आक्रमणमा मृत्यु भएको इजरायलले जनाएको छ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै उत्कृष्ट कारबाहीको लागि इजरायल डिफेन्स फोर्स र इजरायली सुरक्षा निकाय शिन बेटलाई बधाई पनि दिएका छन्।

हमासले भने उनको मृत्युको पुष्टि गरेको छैन।

यसअघि फिलिस्तिनी सशस्त्र समूहले उक्त जिल्लामा आवासीय भवनमाथि गरिएका इजरायली हवाई आक्रमणमा दर्जनौं सर्वसाधारणको मृत्यु र घाइते भएको जनाएको थियो।

स्थानीय पत्रकारहरूले गाजा सिटीको बाक्लो जनसङ्ख्या भएको अल-रिमल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र २० जना घाइते भएकोह जनाएको छ ।  जसमा बालबालिका समेत रहेका छन्।

शनिबारको आक्रमण इजरायली योजनाबद्ध स्थल आक्रमणको तयारी स्वरूप गाजा सिटीमा भइरहेको लगातार हवाई आक्रमणको बीचमा भएको हो।