आजको युगमा, हामीले जीवनलाई 'भौतिक सफलताको एक अनन्त दौड' मात्र ठानिरहेका छौ । हामीलाई लाग्छ, जसले धनको पहाड ठड्याउँछ, पदको शिखरमा पुग्छ र सुख सुविधाको सागरमा डुबुल्की मार्छ, त्यही प्राणी जीवनको असली विजेता हो । यो होडबाजीको ज्वाला यति प्रज्वलित छ कि हामीले एक अर्काको हात समाउनुको साटो, एकअर्कालाई कुल्चेर अगाडि बढ्न चाहन्छौ । आफ्नो वास्तविक पहिचान र मानवीय मूल्यहरूको सुगन्ध बिर्सेर, हाम्रो जीवन एक खाली भाँडोझै खोक्रो र उद्देश्य विहीन बन्दै गएको छ ।

के जीवन साँच्चै भौतिक वस्तुहरूको एक निरस संग्रह मात्र हो? के सफलताको मापन बैंक खातामा थुप्रिएको अंकको आधारमा मात्र हुन्छ? यी प्रश्नहरूले हाम्रो चेतनाको गहिराइमा दस्तक दिन्छन् । जीवन कुनै गणितीय सूत्र होइन, जहाँ हरेक समस्याको एउटै निर्जीव उत्तर हुन्छ । यो त एउटा रहस्यमय यात्रा हो, जसको गहन अर्थ हामीले आफ्नै अनुभवका छालहरू, दुःखका आँधीहरू र संघर्षका चट्टानहरूबाट खोज्नुपर्छ । जीवनको गहिराइलाई आत्मसात गर्न र भौतिकताको भ्रमरूपी पर्दा हटाउन, हामीले आफ्नो आत्मामा लुकेका केही आधारभूत मानवीय मूल्यहरूलाई पुनर्जागृत गर्नुपर्छ । यी मूल्यहरूले हामीलाई यो बोध गराउँछन् कि जीवन केवल प्रतिस्पर्धा र स्वार्थको एउटा नीरस खेल मात्र होइन, यो त करुणाको निर्मल धारा, आत्मसम्मानको अटल पहाड, नैतिकताको प्रकाश र सह-अस्तित्वको सुन्दर संगम हो ।

दुःख र सुख: जीवनका दुई पाटा

हामी सुखको खोजीमा यति हताश दौडिरहेका छौ कि हामी पीडा र दुःखलाई जीवनको सबैभन्दा ठूलो शत्रु ठान्छौ, जुन एक भयानक भूल हो । पीडा कुनै नकारात्मक भावना मात्र होइन, यो त जीवनको सबैभन्दा महान् गुरु हो । जसरी कुनै पनि सुन्दर संगीतमा आरोह र अवरोह दुवैले एक मीठो लय सिर्जना गर्छन्, त्यसरी नै जीवनलाई पूर्ण बनाउनका लागि सुख र दुःख दुवै अनिवार्य हुन्छन् । सुखले हामीलाई विश्राम दिन्छ, तर पीडाले हाम्रो सुषुप्त चेतनालाई जगाउँछ र हाम्रो वास्तविक अस्तित्वको बोध गराउँछ ।

जीवनको सबैभन्दा ठूलो चुनौती सुखको खोजी होइन, बरु दुःखको अँध्यारोमा पनि मुस्कुराउन सक्नु हो । पीडाले तपाईलाई कमजोर होइन, बरु एउटा फलामझै बलियो बनाउँछ । पीडालाई आफ्नो शिक्षक बनाउनुहोस् । जब जीवनमा दुःखको मेघ गर्जिन्छ, तब हामीले बुझ्नुपर्छ कि हामी जीवित छौ । ECG को सीधा रेखाले जीवनको अन्त्यको संकेत गर्छ, यसको अर्थ हो जीवनमा उतारचढावका लहरहरू अनिवार्य छन् । पीडाले हामीलाई प्रश्न गर्छ, "तपाई वास्तवमा को हुनुहुन्छ?" र जब हामी यो प्रश्नको उत्तर खोज्दै जान्छौ, तब हामी आफ्नो वास्तविक पहिचानको मुहान फेला पार्छौ । पीडाले हामीलाई हाम्रो सीमा र कमजोरीहरूको बारेमा मात्र होइन, हाम्रो भित्री शक्ति र साहसको बारेमा पनि सिकाउँछ । यो दुःखको आगोले हामीलाई आत्मनिर्भर, नम्र र भावनात्मक रूपमा परिपक्व बनाउँछ ।

अरूको पीडामा हाँस्नु वा रमाउनु भनेको आफ्नै भविष्यको लागि दु:खको बीउ रोप्नु जस्तो हो । करुणा नै एक यस्तो स्थायी मूल्य हो जसले हामीलाई मानवताको धागोले एकअर्कासँग जोड्छ । जब हामी अरूको दुःखलाई आफ्नो दुःख सम्झन्छौ, तब हामीले मानवताको सही अर्थ बुझ्छौ । पीडाले हामीलाई मानवताको पाठ सिकाउँछ । अरूको पीडामा हाँस्नु भन्दा त्यसलाई बुझ्ने प्रयास गर्नुहोस्, किनकि मानवीयताको जग करुणा हो । जसरी रात बिना दिनको महत्त्व हुदैन, त्यसरी नै असफलता बिना सफलताको स्वाद हुदैन । यी दुई विपरित पक्षहरूले नै जीवनको सुन्दरताको परिभाषा गर्छन् । दार्शनिकहरू भन्छन्, जीवन दुःख र पीडाको एउटा उत्सव हो, जहाँ प्रत्येक चोटले हामीलाई अझ गहन आत्मबोध तर्फ लैजान्छ ।

आन्तरिक सम्पत्ति: आत्मसम्मान र इमानदारी

आजको समाजमा मानिसहरू बाहिरी रूपमा चम्किलो देखिन र समाजमा सम्मान पाउनको लागि जस्तोसुकै कार्य गर्न तयार हुन्छन् । तर, यो बाहिरी चमक क्षणिक र छिट्टै हराएर जाने हुन्छ । वास्तविक सम्मान तब प्राप्त हुन्छ जब हामी आफैलाई सम्मान गर्न थाल्छौ । आत्मसम्मान हाम्रो विचार, व्यवहार र निर्णयमा प्रकट हुने जीवनको सबैभन्दा गहिरो मूल्य हो । जब हामी आफ्नो मर्यादाको धरातलमा अटल रहन्छौ, तब मात्र संसारले हामीलाई सम्मान गर्छ । आत्मसम्मानले हामीलाई अरूको नजरमा राम्रो देखिनुपर्ने बाध्यताबाट मुक्त गर्छ र हाम्रो आफ्नै योग्यता र नैतिकतामा विश्वास गर्न सिकाउँछ । आफ्नो योग्यतामाथि विश्वास गर्नुहोस्, अरूको नजरमा राम्रो बन्नु पर्दैन ।

यससँगै इमानदारी पनि एक महत्त्वपूर्ण गुण हो । वारेन बफेट भन्छन्, "इमानदारी महँगो उपहार हो, त्यसलाई सस्तो मानिसहरूसँग अपेक्षा नगर्नुहोस् ।" सस्तो मानिसहरू ती हुन् जसले क्षणिक लाभको लागि आफ्नो मूल्य र सिद्धान्तलाई बेच्छन् । इमानदारीले दीर्घकालीन भरोसा, सम्मान र साँचो सफलता दिन्छ । यो कुनै व्यापारिक लेनदेन होइन, बरु हाम्रो चरित्र र आचरणबाट निस्कने नैतिक प्रकाश हो । यो गुणले हाम्रो आन्तरिक बललाई दर्शाउँछ र हामीलाई बाहिरी प्रलोभनहरूबाट टाढा रहन मद्दत गर्छ । जीवनको वास्तविक सम्पत्ति भौतिक वस्तु होइन, बरु असल विचार र असल कर्म हो ।

आत्मसम्मान र इमानदारी, यी दुई गुणहरू एकै सिक्काका दुई पाटा हुन् । जब हामी आफूलाई आफैले सम्मान गर्छौ, तब हामी इमानदार बन्न सक्छौ । इमानदारीले हाम्रो आत्मालाई स्वच्छ राख्छ र हामीलाई नैतिक रूपमा बलियो बनाउँछ । यो बाहिरी देखावटी सम्पत्ति होइन, बरु हाम्रो भित्री धन हो । जसको आत्मसम्मान बलियो हुन्छ, उसले कहिल्यै कुनै पनि गैरकानुनी वा अनैतिक काम गर्न सक्दैन । यी गुणहरूले नै हामीलाई साँचो अर्थमा धनी बनाउँछन्, जुन धनलाई न त कुनै चोरले चोर्न सक्छ न त समयले नै खोस्न सक्छ । महान् विचारकहरू भन्छन्, "आफ्नो अस्तित्वको बोध बिना, जीवन एक खाली जहाज हो । आत्मसम्मानले त्यसलाई दिशा दिन्छ ।"

परिवार, समाज र देश: सहकार्यको त्रिवेणी

कुनै पनि व्यक्ति एक्लै पूर्ण हुदैन र कुनै पनि देश आफ्ना नागरिकबिना अधुरो हुन्छ । हाम्रो जीवनको जग परिवार हो र यसैबाट समाज र देशको निर्माण हुन्छ । परिवार त्यो घर हो, जहाँ प्रेमको जगमा विश्वासको छाना बन्छ । परिवारको सबैभन्दा ठूलो धन पैसा होइन, बरु एकअर्काप्रतिको सम्मान र करुणा हो । जहाँ परिवारमा सहमति र संवादको संगीत गुन्जिन्छ, त्यहाँ कुनै पनि समस्या ठूलो हुदैन । आमाबाबुको त्यागलाई सम्मान गर्नुहोस्, किनकि त्यो त्यागले हाम्रो जीवनको जग बसालेको छ । परिवारलाई समय दिनु भनेको आफ्नो भविष्यको बगैचामा पानी हाल्नु जस्तै हो ।

परिवारबाट नै समाजको सुरुवात हुन्छ । समाजलाई बदल्न अरूको प्रतीक्षा नगर्नुहोस्, परिवर्तनको सुरुवात आफैबाट गर्नुहोस् । एक असल समाजको पहिचान त्यसको धनी मानिसबाट होइन, बरु सबैभन्दा गरिब मानिसको अवस्थाबाट हुन्छ । जहाँ सहकार्यको हात फैलिन्छ, त्यहाँ समाज विकासको नयाँ बाटोमा हिड्छ । सत्य बोल्ने साहस राख्नुहोस्, किनकि सत्यको आवाजले मात्र समाजमा न्यायको ज्योति फैलाउँछ ।

अन्ततः, यही परिवार र समाज मिलेर देश बन्छ । देशको माटोमा सुन होइन, नैतिकता र इमानदारी रोप्ने प्रयास गर्नुहोस् । नागरिकको सबैभन्दा ठूलो कर्तव्य आफ्नो अधिकारको प्रयोग गर्नु मात्र होइन, बरु आफ्नो कर्तव्यको पालना गर्नु पनि हो । जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापार बनाइन्छ, त्यो देशको भविष्य अन्धकारको खाडलमा पर्छ । हामीले राजनीतिक विभाजन भन्दा माथि उठेर राष्ट्रिय एकताको भावनालाई बलियो बनाउनुपर्छ । मानवतावाद को दर्शनले हामीलाई सिकाउँछ कि हाम्रो वास्तविक पहिचान राष्ट्र वा धर्मबाट होइन, बरु हामीले एकअर्कालाई दिने सम्मानबाट हुन्छ ।

राजनीति: सेवाको माध्यम, सत्ताको खेल होइन

राजनीति कुनै पनि देशको भविष्यको दिशा तय गर्ने एउटा महत्वपूर्ण पाटो हो । दुर्भाग्यवश, आज राजनीतिलाई स्वार्थ र शक्तिको खेल बनाइएको छ । तर, यसको वास्तविक अर्थ सेवा हो । राजनीति सेवाको माध्यम हो, स्वार्थको व्यापार होइन । एक सच्चा नेताको पहिचान सत्ताको लोभ भन्दा जनताको सेवालाई प्राथमिकता दिनुमा हुन्छ ।

नैतिकहीन राजनीतिले समाजमा अराजकता निम्त्याउँछ, त्यसैले राजनीतिमा नैतिकता अनिवार्य छ । भ्रष्टाचारले देशको जगलाई कमजोर बनाउँछ, यसलाई रोक्न प्रत्येक नागरिक जाग्नुपर्छ । राजनीतिज्ञहरूले इमानदारिताको मूल्य बुझ्नुपर्छ र जनताको विश्वासलाई कुनै पनि हालतमा गुमाउनु हुदैन । हामीले यस्तो राजनीतिक संस्कृति निर्माण गर्नुपर्छ जहाँ जनताको हित नै सर्वोपरी होस् ।

राजनीति केवल चुनाव जितेर सत्तामा बस्नु होइन, बरु जनताको दुःखमा साथ दिनु र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो । जब राजनीतिले नैतिकताको बाटो समात्छ, तब देशले समृद्धिको बाटोमा हिड्छ र नागरिकहरूले सुरक्षित र सम्मानित जीवन जिउन पाउँछन् । प्रसिद्ध दार्शनिकहरूले भनेका छन्, "एक असल राज्यमा, नागरिकको अधिकारसँगै कर्तव्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।"

जीवनको सन्तुलित दृष्टिकोण: अस्तित्वको पूर्णता

जीवनलाई केवल सुख वा दुःखमा सीमित राख्नु हुदैन । जीवनको लय सुख र दुःखको सन्तुलनमा आधारित हुन्छ । हामीले जीवनमा हुने उतारचढावका लहरहरूलाई स्वीकार गर्नुपर्छ । हामीले यो बुझ्नुपर्छ कि न कोही पूर्ण रूपमा असल हुन्छ न त कोही पूर्ण रूपमा खराब । मानवीय कर्महरू समयको माग अनुसार प्रभावित हुन्छन् । हरेक क्षणमा मानिस परिस्थितिको अनुसार निर्णय गर्छ र हरेक निर्णयले उसलाई नयाँ अर्थ दिन्छ ।

हामीले आफ्नो जीवनलाई सतही ज्ञान र क्षणिक सफलतामा मात्र सीमित राख्नु हुदैन । बरु, जीवनको गहिराइमा डुबेर यसको वास्तविक अर्थ बुझ्नुपर्छ । जब हामीले पीडा, आत्मसम्मान, इमानदारी र हरेक पलको महत्त्व बुझ्छौ, तब मात्र हामी एक सार्थक र नैतिक जीवन जिउन सक्छौ । जीवनको वास्तविक सफलता भौतिक वस्तुहरूमा होइन, बरु हाम्रो आन्तरिक शान्ति, करुणा र मानवीय सम्बन्धहरूमा लुकेको हुन्छ ।

त्यसैले, भौतिक सुखको पछाडि दौडनु भन्दा पहिले हामीले आफ्नै भित्र फर्केर हेर्नुपर्छ । सुख सुविधाका सामानहरूले हाम्रो कोठा भर्न सक्छन्, तर हाम्रो हृदयको खालीपन भर्न सक्दैनन् । जब हामी अरूको सफलतामा खुसी हुन्छौ, जब हामी एकअर्कालाई सहयोग गर्छौ र जब हामी आफ्ना मूल्यहरूमा अडिग रहन्छौ, तब मात्र हामीले जीवनको वास्तविक आनन्द पाउँछौ । हामीले यो बुझ्नुपर्छ कि जीवन कुनै प्रतिस्पर्धा होइन, बरु एक सहयात्रा हो । हामी सबैले एकअर्काको हात समातेर यो बाटो पार गर्नुपर्छ । त्यसैले, आउनुहोस्, भौतिकताको खोक्रो दौडलाई छाडेर नैतिकता र मानवताको सुन्दर बाटोमा अगाडि बढौ । यही नै एक सुखी र सफल जीवनको वास्तविक सूत्र हो । वास्तविक खुशी भौतिक चीजहरू बटुलेर होइन, बरु मनको शान्ति, आत्मसन्तुष्टि र अरूलाई सहयोग गर्दा प्राप्त हुने आन्तरिक आनन्दबाट मिल्छ ।