काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले पार्टी, राज्य र समाजको लोकतान्त्रीकरण, संगठन पुनर्गठन तथा नेतृत्व हस्तान्तरणलाई मुख्य एजेन्डा बनाउँदै देशभरका कार्यकर्तामाझ विस्तृत राजनीतिक–सांगठनिक दृष्टिकोण सार्वजनिक गरेका छन्।
पोखरेलले नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक–आर्थिक रूपान्तरण तथा देशभक्तिका यात्रामा सहादत प्राप्त गरेका सबै सहितप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्युनिस्ट आन्दोलनका अग्रज पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीलगायत नेताप्रति सम्मान व्यक्त गरे।
हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरू तथा नेपाल प्रहरीका जवानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरेलले भ्रष्टाचार अन्त्य र सुशासनको मागलाई मान्यता दिए। तर भदौ २३ र २४ मा आन्दोलनमा ‘घुसपैठ’ तथा ‘विध्वंस’ भएको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरे।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले उचित फैसला आउने अपेक्षा व्यक्त गरे। साथै सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन वातावरण बनाउनुपर्ने उनले जोड दिए।
पोखरेलका अनुसार भदौ २३ पछिको असाधारण राजनीतिक परिस्थितिले पार्टीले विगतमा पारित गरेको अनेकन निष्कर्ष अद्यावधिक गर्नुपर्ने आवश्यकता उत्पन्न भएको छ। उनले ‘वस्तुगत यथार्थ’ मा आधारित मार्क्सवादी विश्लेषणअनुसार नीति तय गर्नुपर्ने बताए।
मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई नयाँ सन्दर्भअनुसार सृजनात्मक तवरले कार्यान्वयन गर्न देशव्यापी बहस, अध्ययन, अन्तर्क्रिया तथा गोष्ठी सञ्चालन गरिने उनले घोषणा गरे।
पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिएको अवस्थाले संगठनिक एकता कमजोर हुने भन्दै पोखरेलले उनीलाई पुनः पार्टीमा फर्कने वातावरण निर्माण गर्नुपर्ने बताए।
जीवनका भूमिगत संघर्ष, जेल–नेल, संगठन निर्माण तथा राज्यसञ्चालन अनुभवहरूको स्मरण गर्दै उनले पार्टी पुनर्गठन र रूपान्तरणमा सक्रिय नेतृत्व दिन आफू सक्षम रहेको प्रष्ट पारे।
मंसिर १३ गते प्रतिनिधि छनोट र मंसिर २७–२९ गते हुने महाधिवेशनलाई सफल बनाउन पोखरेलले कार्यकर्तालाई विवेकपूर्ण, मर्यादित र निर्भय सहभागिताको अपिल गरे।
पोखरेलले एमालेलाई जनताको भरोसा लिन सक्ने, लोकतान्त्रिक मूल्य–मान्यता बोकेको, पारदर्शी र जिम्मेवार राजनीतिक संस्था बनाउनु नै राष्ट्रको हित सुरक्षित गर्ने मार्ग भएको बताए। उनले छिट्टै विस्तृत राजनीतिक तथा सांगठनिक दस्तावेज सार्वजनिक गर्ने घोषणा गरे।




0 comment