काठमाडौं - अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा नेपाल बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भयो।

१८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। मल्लले ४७ बलमा नटआउट ५९ रन बनाए।

बंगलादेशका रकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाउँदा अफिफ होसेनले नटआउट ४८ रन जोडे।

नेपालका लागि रिजन ढकालले २ विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए। नेपाल यसअघिको पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।