काठमाडौं - भारतीय प्रान्त राजस्थानको दौसामा बुधबार बिहान मन्दिर दर्शन गरेर फर्किरहेकाहरू चढेको कार रोकिराखेको पिकअप ट्रकसँग ठोकिँदा ११ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार खाटुश्याम मन्दिरको दर्शन गरेर फर्किरहेका भक्तजनको कार पार्किङमा रहेको पिकअप ट्रकसँग ठोकिएको हो ।

बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा सात बालबालिका र चार महिला छन् ।

दुर्घटनाबारे प्रहरी अधीक्षक सागर राणाले भने, ‘खाटुश्याम मन्दिरबाट आएका भक्तजन चढेको कार दुर्घटना भएको छ । अहिलेसम्म ११ जनाको मृत्यु भएको खबर आएको छ ।’

प्रहरी उपअधीक्षक रविप्रकाश शर्माका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र एक महिलाको एसएमएस अस्पताल पुगेपछि मृत्यु भएको खबर बीबीसीमा छ ।