काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनको  पहिलो चरणमा २६ खेलाडी अनुबन्ध भएका छन् । आज भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने ८ टोलीले उनीहरुलाई अनुबन्ध गरेको हो ।

दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । उनीहरुले जनही रु १५ लाख प्राप्त गर्नेछन् । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाडौं गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ ।

यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाडौं गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही  १० लाखमा अनुबन्ध गरेको छ ।

यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले ७ लाख ५० हजारमा तथा आकाश त्रिपाठीलाई काठमाडौं गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ । यसैगरी नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेललाई लुम्बिनी लायन्सले तथा आदित्य महतालाई जनकपुर बोल्टसले जनही ५ लाखमा अनुबन्ध गरेको छ । काठामण्डु गोर्खाजले उत्तम थापा मगरलाई ३ लाखमा अनुबन्ध गरेको छ ।  

यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले,अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाडौं गोर्खाजले तथा इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले जनही दुई लाखमा अनुबन्ध गरेको छ ।

काठमाडौं गोर्खाजले आफ्नो कोटा अनुसार ५ खेलाडी अनुबन्ध गरेको छ । अन्य टोलीले अक्सनको पहिलो चरणबाट सबै खेलाडी भित्र्याउन सकेनन् । यसअघि अनसोल्ड भएका बाँकी खेलाडीलाई काठमाडौं गोर्खाज बाहेकका टोलीले न्युनतम मूल्यमा अनुबन्ध गर्न पाउनेछन् । एनपिएलको आजको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो ।