काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पछिल्लो २०/२५ वर्ष नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा धेरै फड्को मारेको बताएका छन् ।
काठमाडौं जिल्ला क्रिकेट संघको छैटौं साधारणसभाका अवसरमा क्यानका सचिव खड्काले नेपाली क्रिकेटको यो सफलता सहज नभए पनि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्दा सफल भएको बताएका छन् । अहिले नेपाली क्रिकेट स्थिरताको बाटोमा हिँडिरहेको उल्लेख गर्दै एकदिवसीय मान्यता पाउने क्रममा धेरै चुनौती सामना गर्नुपरेको क्यानका सचिव खड्काको भनाइ छ ।
उनले पहिला क्रिकेटमा श्रोतहरू धेरै कम रहेको पनि उल्लेख गरेका छन् । तर सबै कुराहरू बिर्सेर ४५ जिल्ला, सात प्रदेश र नेपाली खेलकुदका कार्यकारी निकायहरुले नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेह रहेका पारसले गर्नुपर्ने कामहरू धेरै रहेको र जसलाई केन्द्रले मात्र गरेर साध्य नहुने पनि उल्लेख गरेका छन् ।
उनले चुनौतीलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने पनि आशा व्यक्त गरेका छन् । जिल्ला र प्रदेश क्रिकेटकै मेरुदण्ड भएको उल्लेख गर्दै क्यानका सचिव पारस खड्काले आर्थिक रुपमा पनि बलियो हुँदै गएको बताए । सचिव खड्काले आगामी दिनमा जिल्ला र प्रदेशले धेरै कार्यक्रम गर्नुपर्ने तथा चुनौती सामना गर्न पनि तयार रहन अनुरोध गरेका छन् । उनले जिल्ला र प्रदेशलाई एकीकृत भएर अगाडि बढ्न आग्रह गरेका छन् ।
सचिव खड्काले काठमाडौं जिल्ला क्रिकेट, बागमती प्रदेश हुँदै केन्द्रमा पुग्न सफल भएको स्मरण गरे । उनले काठमाडौं जिल्ला क्रिकेट संघले ठुलो प्रतियोगिता आयोजना गर्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस अवसरमा काठमाडौं जिल्ला क्रिकेट संघले पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको छ । नेपाली यू-१६ पुरुष टोलीका सदस्य प्रसिद्ध जैशी र कृष्मा गुरुङ सम्मानित भएका हुन् । काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसीसी यू-१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतसहित २४६ रन प्रहार गरेका थिए । महिला टिमकी खेलाडी कृष्मा गुरुङलाई पनि सम्मान गरिएको थियो । दुबैले समान जनही ५ हजार प्राप्त गरे ।
आईसीसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो । बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ, क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य दुर्गानाथ पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन र क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
जिल्ला क्रिकेटको विकासमा पुर्याएको योगदानको आधारमा सम्मान गरेको काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी गराए । यस अवसरमा अध्यक्ष घलले वर्षभरी ६ कार्यक्रम गराउन सफल भएको बताए । घलेको नेतृत्वमा काठमाडौं क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, वाइवाइ यू-१९ पुरुष छनोट, दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसीसी यू-१६ इस्ट जोन कप छनोट), आईसीसी यू-१९ महिला विश्वकप र एसिया कप छनोट तथा जिरो लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना भइसकेका छन् ।
काठमाडौं जिल्लाले जिल्लाको मात्र नभई नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै घलेले खेलाडीहरुलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्नु संघको दायित्व भएको बताएका छन् ।


0 comment