डीराज कोइराला

सीमाविद भनेर कहलिएका बुद्धिनारायण श्रेष्ठले लेखेको “जङ्गे–बुद्धे” नामक पुस्तकको लोकार्पण समारोहमा पुस्तकका भूमिकाकारले “चोई भनेकाले खोई भन्न पुगे” । राष्ट्रकवि माधव प्रसाद घिमिरे, सस्कृतिविद सत्यमोहन जोशी, भूमिकाकार प्रा. डा. खेम कोइराला बन्धु, लेखकका मनले खाएको भनिएका प्रा डा अभि सुवेदी, पुस्तकका प्रकाशक वासुदेव ढकाल, लेखक स्वयम र उद्घोषक नरेन्द्र कोइराला समेतले जङ्गबहादुरको गुनगान गाएको सुन्ने अवशर पाएकाले सधै जङ्गबहादुर राणालाई गालीगरेको मात्र सुन्दै आएकोमा मैले नौलो अनुभव र अचम्मको अनुभूति गर्ने अवसर पाए पनि मनमा कुण्ठा बोकेर दङ्ग नै परे । दङ्ग यसकारणले परे कि, अब भने उपन्यासलाई इतिहास नै हो भन्दै पढ्दै, लेख्दै, बुझ्दै, बुझाउँदै आएको नेपाली समाजमा सत्य साँचा यथार्थ कुराहरुले पनि “दूध पानी छुट्टिएझै” उजागर हुने मौका पाउने भए, अबका हाम्रा भावी सन्ततीहरुले सक्कली इतिहास पढ्न पाउने भएछन भनेर ।

कुण्ठा बोक्न नै पर्ने कारण यस्तो भयो कि जङ्गबहादुले गरेको नयाँ मुलुक फिर्ता लिएको सन्धिको गहन अध्ययन नै नगरी सुनेकै भरमा “जङ्गे– बुद्धे” जस्तो पुस्तकलाई उद्धधोषकको भाषण सुन्दा र प्रकाशक वासुदेव ढकालको प्रकाशकीय भनाइमा लेखिएको देख्दा यो पुस्तकको अब्रुक(इज्जत) लिएर पुस्तकलाई इतिहास बन्ने मूल बाटो छेक्दै उपन्यास नै बनाएको रहेछ भन्ने कुराले पुस्तकको महिमा सुन्न पाउनासाथ दाँतमा ढुङ्गो लाग्न पुगेको हो ।

साँचो सत्य र तथ्यपूर्ण इतिहासलाई लुकाउने कार्य किन र कस्ले गरेको हो वा गर्न लगाएको ?

कतै हिजो आजका सचेत र अध्ययनशील नेपाली नागरिकहरुका मनमा यस अघि भारत सरकारका तर्फवाट बृटिस सरकार र नेपाल सरकारका बीचमा भएका सबै पुराना सन्धिहरु खारेज गर्दै नेपाल र भारतका बीचमा भएको ३१ जुलाई १९५० को मैत्री तथा शान्ति सन्धिको धारा ८ ले नेपालको हुन आएको पूर्वमा टिष्टा नदी हुँदै बङ्गलादेशको सीमानासम्म तथा पश्चिममा काङ्गडा–सतलज) सम्मको र दक्षिण तर्फ अग्रेंज विद्वान् Francis Buchanan Hamilton को AN ACCOUNT OF THE KINGDOM OF NIPAL नामक पुस्तकमा समावेस भएको नक्सा तथा देहरादूनमा बिर्ता पाउने देहरादून निवासी गोपाल गुरुङ्ले तयार गरी श्री ५ रणबहादुर शाहलाई दिएको सुगौली सन्धि पूर्वको हाम्रो बिशाल गोर्खा साम्राज्यको नक्सा वा अरु प्रमाणित नक्सा बमोजिमका भूभागहरु भारतसँग भएको उक्त मैत्री तथा शान्ति सन्धि पूर्णरुपमा लागु गर्दै फिर्ता लिन बाँकी रहेका सबै भूभागहरु भारतबाट फिर्ता लिनु पर्छ भन्ने जनआवाजलाई दवाउनकैलागि नेपाल र नेपाली नागरिकहरुलाई सधै अस्तव्यस्त बनाउन लागि परेका देशी विदेशी शत्रुहरुका आँखा लागेका त होइनन् ?

(गोपाल गुरुङ भन्ने गोर्खा साम्राज्यको देहरादून निवासी मानिसले बनाएको भनिएको नक्सा नारायण हिटी राज दरवारको लाल बाकसमा थियो रे भन्ने कुरा योगी नरहरिनाथका मुखबाट एक दशक अघि नै सुनेको हुँ । हाल सो नक्सा कहाँ छ ? सरकारले दरवारको लाल बाकसको बिवरण सार्वजनिक नगरेसम्म अनुमान बाहेक यसै हो भन्न सकिन्न) 

उहिल्यै मरिसकेर पनि इतिहासले सधँ गाली गरेका जङ्गबहादुर राणाले सन् १८५७– ५९ को भारतको सिपाही विद्रोह दवाएर जलियालावाग काण्डमा अग्रेज सरकारलाई सघाएर लगाएको गुनको बदलामा प्रचार प्रशार र छल गरेकै भरमा अग्रेजहरुले वैध बनाएको २ डिसेम्बर १८१५ को तथाकथित सुगौली सन्धिबाट गुमेका भूभागहरु मध्ये राप्ती नदी र महाकाली नदीका बीचमा पर्ने बाँके बर्दीया कैलाली र कन्चनपुर समेतका भूभागहरुलाई १ डिसेम्बर १८६० मा सन्धि गरेर फिर्ता लिएको ऐतिहासिक तथ्यले खुल्लारुपमा प्रशंसा पाएको घटनालाई सामान्य नमानेर ऐतिहासिक नै मान्नु पर्छ ।

यो सन्धिलाई आधार मानेर सुगौली सन्धिले कायम गरिदिएको मेची नदीदेखि कोशी नदीसम्म तथा ११ डिसेम्बर १८१६ मा लालमोहोर लागेको सन्धिले अग्रेज सरकारले फिर्ता गरेका कोशी नदीदेखि राप्ती नदीसम्म र १ डिसेम्बर १८६० को सन्धिले फिर्ता भएको भूभागलाई एकमुष्ट बनाएर अग्रेज सरकारलाई सीमानामा पिलर लगाउन बाध्य बनाउन सक्ने जङ्ग बहादुर उहिल्यै फर्केर नआउने बाटो गए तर उन्ले लगाएका पिलरहरु “जङ्गे पिलरका” नामले हालसम्म पनि जङ्ग बहादुर राणाले कायम गराएको नेपालको सीमानामा प्राय जसो उभिएर तैनाथी जनाएकै छन् । उनी धन्य छन् ।

उनीका बिषयमा ढाँट– ढुँट, छ्क्का– पन्जा गरेर, निहित स्वार्थकालागि होइन उन्ले गरेका कामहरुको रिठ्ठो नबिराइ विश्लेषण हुनु पर्ने हो तरभएको पाइएको छैन र पनि आशा गरौ हाम्रा आशाहरु अवश्य पनि समयमा पुरा हुने छन् । तर उन्ले बाँके बर्दीया कैलाली र कन्चनपुर (नयाँमुलुक) अग्रेज सरकारबाट फिर्ता लिदा गरेको सन्धिपत्रको धारा २ मा के लेखिएको छ ? सो धारामा उल्लेख भएको व्यहोरालाई माथि उल्लेख भएका उद्घोषक तथा प्रकाशकले हामी नेपालीलाई सोझै ढाँटेको देखिएकोले “जङ्गे– बुद्धे” नामक पुस्तक र पुस्तकका लेखकको आब्रुक (इज्जत मात्र) लिने काम भए जस्तो लाग्यो ?

प्रकाशकले किन ढाँटे वा कसैले ढाट्न बाध्य पारे ? “हत्केलाले सुर्य कदापि छेकिने छैन” भन्ने अकाट्य सत्य आफ्नै ढाउँमा रहने नै हो । यो बिषयमा जान्ने बुझ्ने र गहन अध्ययन गर्नेहरुले सत्य उजागर गर्न कन्जुस्याइ गर्ने छैनन् भन्ने अपेक्षा राख्दै प्रकाशकले यो “जङ्गे– बुद्धे” नामक पुस्तमा कहाँ ढाँटे छन् भन्ने कुरा प्रष्ट पार्नकालागि उक्त सन्धिको धारा २ पढेर हेरौ जस्मा यस्तो लेखिएको छ –

The British Government hereby bestows on the Maharajah: of Nipal in full sovereignty , the whole lowlands between the river Kali and Raptee, and the whole lowlands laying between the river Raptee and the District of Gorukpore, which were in the possession of the Nipal state in the year 1815, and were ceded to the British Government by Article III of the Treaty concluded at Segowlee on 2nd of December in that year.

बुद्धि नारायण श्रेष्ठ समेतको नेपाल भारत र चीन सन्धि नामक पुस्तकमा यस्तो छ :–

ब्रिटिश सरकार ई स १८१५ पूर्व नेपालको अधिनमा रहेका र सोही बर्षको डिसेम्बर २ तारिखका दिन सुगौलीमा सम्पन्न सन्धिको धारा ३ अन्तर्गत ब्रिटिश सरकारको भूभागमा गाभिएका महाकाली र राप्ती नदी बीचको तराईको सम्पुर्ण भूभाग तथा राप्ती र गोरखपुरको बीचमा पर्ने तराईको भूभागमा नेपालका श्री ५ माहाराजाधिराजको पूर्ण प्रभुसत्ता रहने गरी ती भूभागहरु मैसूफमा टक्र्याउँछ ।

हुनत लेखकले यो पुस्तक धेरै बिक्री हुन्छ प्रकाशकलाई घाटा पर्दैन भनेर लोकार्पण समारोहमा ३५० जना जतिको उपस्थितिमा सान्त्वना दिएकाले पुस्तक धेरै बिक्री होलान् धेरै पाठकहरुले पढ्लान् यो व्यापारको राम्रो पक्ष हो ।

२ डिसेम्बर १८१५ का दिन सुगौलीमा PARIS BRADSHAW, Lt.-Col.,P.A ले सहि गरेको सन्धि पत्रमा गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले मकवानपुर भ्याल्लीमा पुगेर सही छाप गरेको हो भनी प्रमाणित गर्ने DD. Ochterlony ( Agent, Governor-General) ले ४ मार्च १८१६ मा सहि हुनाले ४ मार्च १८१६ को सुगोली सन्धि हो भनेर लेखेको हो भने यी दुई जना मान्छेलाई उक्त प्रस्तावित सुगौली सन्धिको कागज राजाले अस्वीकार गरेर फिर्ता गर्न पठाएको थियो होला कि सन्धिमा सही गर्न पठाएको थियो ?

सन्धिका सर्तहरु राजाले स्वीकार गरेको भए त्यो प्रस्तावित सन्धिमा लालमोहोर लाग्ने थिएन र ? यदि राजाले यी दुई जनालाई सन्धिमा सही गर्न मकवानपुर पठाएको भए लालमोहोर लागेको कागज खोइ त ? यस्तो तथ्यपुर्ण प्रमाणित कागज हालसम्म कतै पनि पाइएको छैन । त्यसैले उनीहरुलाई सन्धिको कागजमा सही गर्न होइन प्रस्तावित सन्धिको कागज अग्रेजलाई फिर्ता गर्नकालागि मकवानपुर पठाइएका दरवारका अधिकृतहरु हुन् भन्नु उपयुक्त हुन आउँछ ।

यी दुई जना अधिकृतलाई अग्रेज सरकारले आफूखुसी नेपाल सरकारका प्रतिनिधि कायम गराएर कल छल बल वा लालच देखाएर उनीहरुको लालन पालन मानसम्मान सान सौगात सबै पुरा गराउने भन्दै उनिहरुलाई सही छाप गराउन लगाएको देखिन्छ भने उनीहरु फर्केर नेपाल नआई देश नै छोडेर अग्रेजको पुच्छर समातेर वैतरणी तर्न पलायन भएका देशद्रोहीहरुले मकवानपुर भ्याल्लीमा पुगेर ४ मार्च १८१६ का दिन सही गरेको र DD. Ochterlony ( Agent, Governor-General) ले प्रमाणित गरेको देखिने कागजलाई नै सुगौली सन्धि हो भनेर मान्यता दिने गल्ति गर्ने हो भने उक्त सन्धिलाई सुगौली सन्धि नभनेर “मकवानपुर भ्याल्ली सन्धि” भन्नु पर्ने होइन र ?

यो कुरालाई पुष्टि गर्नकालागि ८ डिसेम्बर १८१६ मा अग्रेज सरकारका तर्फबाट EDWARD GARDNER Resident ले चित्त दुखेको राजाको मनमा मलहम पट्टी लगाउन उक्त २ डिसेम्बर १८१५ को सुगौली सन्धिको धारा ३ मा उल्लेखित भूभाग मध्ये कोशीदेखि राप्ती नदीसम्मको तराई फिर्ता गर्ने र धारा ४ मा उल्लेखित दुई लाख रुपैया नदिने भन्ने व्यहोराको स्मृति पत्रलाई ११ डिसेम्बर १८१६ को राजाको लालमोहोरले प्रमाणित गरेको छ ।

तर १ डिसेम्बर १८६० को सन्धिका धारा २ को गहिरिएर अध्ययन गर्नेहरुले, २ डिसेम्बर १८१५ सुगौली सन्धिलाई ११ डिसेम्बर १८१६ मा श्री ५ राजेन्द्रले, १ डिसेम्बर १८६० मा प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले, २१ डिसेम्बर १९२३ मा श्री ३ चन्द्रसमशेरले तथा २२ जुलाई १९४९ मा नेपाल सरकारले राष्ट्रसघको सदश्यता पाउनकालागि पेस गरेको निवेदन र ३० अक्टुबर १९५० को नेपाल र ब्रिटिश सरकारका बीचमा भएको मैत्री तथा शान्ति सन्धिको धारा ८ ले समेत सुगौली सन्धि भनेको २ डिसेम्बर १८१५ को हो भनी प्रमाणित गरी स्वीकार गरेको प्रमाण हुँदा हुँदै ४ मार्च १८१६ को सुगोली सन्धि भनेर लेख्नुका पछाडिको रहस्यात्मक राज चै के हो ?

यस्ता ऐतिहासिक सन्धिहरुको गहन अध्ययन नगर्ने तर अक्षम्य राष्ट्रघात गर्दै देश नै छोडेर अग्रेजको पुच्छर समातेर पलायन भएकाहरुले सही गरेको कागजलाई ४ मार्च १८१६ को सुगौली सन्धि हो भनेर लेख्ने प्रकाशक श्री वासुदेव ढकाल तथा यो लेखाइलाई आँखा चिम्लेर सहमति दिने सीमाविद् लेखक बुद्धिनारायण श्रेष्ठहरुलाई आम नेपाली नागरिकले पुस्तकको प्रकाशकीय पढे पछि ओठ लेप्र्य्राउँदै खिसी गर्दै नेपालका शासकनेताहरुले दुनियाँलाई ढाँटे जस्तै गर्ने यिनीहरुपनि ढाँटका पुस्तक व्यापारी पो रहेछन भन्न थाले भने उहाँहरु जस्ता सम्मानित राष्ट्रप्रेमी व्यक्तित्वहरुको मान मर्दन हुन जाने हुँदा यस्को जिम्मेवारी चै कस्ले लिने ?