काठमाडौं - कम्बोडियाले थाइल्याण्डसँग तत्काल युद्धविरामको आह्वान गरेको छ।
दुई देशको सीमामा भइरहेको सीमा संघर्षमा ३० भन्दा बढी मानिसको ज्यान गएको घटनापछि युद्धविरामको आहवान गरेको हो । मृतकमध्ये केही सर्वसाधारण पनि छन्।
संयुक्त राष्ट्रसंघमा कम्बोडियाका राजदूत चेया केओले आफ्नो देशले शर्तबिना युद्धविरामको माग गरेको बताएका छन् । साथै उनले फनोमपेन्हले विवादको शान्तिपूर्ण समाधान चाहेको पनि उल्लेख गरे।
तर थाइल्याण्डका विदेशमन्त्री मारिस साङजियामपोंग्साले युद्धविरामका लागि छलफल अघि बढ्न कम्बोडियाले साँचो इमानदारी देखाउनु पर्ने बताएका छन् ।
दुवै देशले बिहीबारदेखि सुरु भएको गोली हानाहानमा ३२ जनाको ज्यान गएको बताएका छन्। जसमध्ये सैनिक र सर्वसाधारण दुवै छन्। करिब २ लाख मानिस विस्थापित भएका छन्।
शनिबार लगातार तेस्रो दिनसम्म पनि लडाइँ जारी रह्यो। थाइल्याण्डको सेनाले कम्बोडियाली सेनाले दक्षिणी तटीय क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको तर थाई नौसेनाले उनीहरूलाई पछि धकेलेको दाबी गरेको छ।
यसअघि थाइल्याण्डले कम्बोडियासँगको सीमावर्ती सुरिन,उबोन रात्चाथानी र सिसाकेत प्रान्तहरूमा लडाइँ भएको रिपोर्ट गरेको थियो। थाइल्याण्डले ती क्षेत्रका आठ जिल्लामा कर्फ्यु घोषणा गरेको छ।
बिहीबारदेखि अहिलेसम्म १९ जनाको मृत्यु भएको बैंककस्थित अधिकारीहरूले बताएका छन् । जसमा १३ जना सर्वसाधारण र ६ जना सैनिक रहेका छन् ।
थाई अधिकारीहरूले करिब १ लाख ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्।
कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार उनीहरूका १३ नागरिक ८ सर्वसाधारण र ५ सैनिक मारिएका छन्। मन्त्रालयले ३५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको बताएको छ।
शुक्रबार थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले चेतावनी दिँदै भनेका छन् कि यी झडपहरू युद्धतर्फ जान सक्ने खतरा बढ्दै गएको छ।
उनले भने लडाइँमा अब भारी हातहतियार प्रयोग हुँदैछ र यो सीमाको १२ स्थानसम्म फैलिएको छ।
थाइल्याण्डले कम्बोडियालाई सर्वसाधारण क्षेत्रमा गोली चलाएको आरोप लगाएको छ र रकेटको सीमा भित्र पर्ने गाउँहरू खाली गराएको जनाएको छ।
कम्बोडियाले भने थाइल्याण्डले क्लस्टर बम प्रयोग गरेको आरोप लगाएको छ। क्लस्टर बमहरू विश्वका धेरै देशमा प्रतिबन्धित छन् किनभने तीले सर्वसाधारणमा असर पार्न सक्छन्। थाइल्याण्डले यो आरोपमा हालसम्म प्रतिक्रिया दिएको छैन।
यो संघर्षमा तेस्रो पक्षको मध्यस्थताको आवश्यकता नरहेको थाइल्याण्डका विदेशमन्त्रीले बताएका छन् । यद्यपि अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविरामको आह्वान गरेका छन्।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम जो दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको संगठन का अध्यक्ष हुन् उनले दुबै देशबीच वार्ता गराउने प्रस्ताव अघि सारेका थिए।
संयुक्त राज्य अमेरिकाले पनि तात्कालिक युद्धविराम, सर्वसाधारणको सुरक्षा र शान्तिपूर्ण समाधानको माग गरेको छ।
थाइल्याण्डका अनुसार यो लडाइँ तब सुरु भयो जब कम्बोडियाली सेनाले सीमावर्ती क्षेत्रमा थाई सेनाको निगरानी गर्न ड्रोन प्रयोग गर्यो।
तर कम्बोडियाले भने थाई सैनिकले सीमा नजिकको खमेर-हिन्दू मन्दिरतर्फ अघि बढेर पहिल्यै भएको सम्झौता उल्लंघन गर्दा झडप सुरु भएको बताएको छ।
दुवै देशबीचको यो सीमा विवाद एक सय वर्षभन्दा बढी पुरानो हो जुन फ्रेन्च उपनिवेशको बेला सीमा निर्धारण गर्दा सुरु भएको थियो। समय समयमा यस्ता झडपहरू भइरहेका छन् जसमा दुवै देशका नागरिक र सैनिकको ज्यान जाने गरेको छ।
यसपटकको तनाव मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्यु भएको घटनापछि चर्किएको हो जसले दुई देशको सम्बन्ध पछिल्लो एक दशकको सबैभन्दा खराब अवस्थामा पुर्याएको छ।



0 comment