काठमाडौं - बंगलादेशले साफ महिला यु–२० च्याम्पियनसिप २०२५ को उपाधि रक्षा गर्न सफल भएको छ। सोमबार बसुन्धरा किङ्स एरेनामा सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले हराउँदै बंगलादेशले उपाधि जितेको हो।

सागोरिकाको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेशले अपराजित रहँदै उपाधि उचालेको हो। उनले ह्याट्रिकसहित चारै गोल गर्दै नेपालविरुद्ध एकल प्रदर्शन गरिन्। बंगलादेशले ६ खेलबाट पूर्ण १८ अंक जोड्यो भने दोस्रो स्थानमा रहेको नेपालले १२ अंकमात्र हासिल गर्‍यो।

प्रतियोगिताको सुरुआतमा नेपाललाई ३–२ ले हराएको बंगलादेशले अन्तिम खेलमा पुनः नेपाललाई हराउँदै दोस्रोपटक हराएको हो।

बंगलादेशका लागि सागोरिकाले खेलको आठौं, ५२औं, ५८औं र ७८औं मिनेटमा गोल गरिन्। पहिलो गोलमा उनले सुजता तामाङलाई बिट गर्दै खाली पोस्टमा बल पठाइन्। दोस्रो गोलमा सिम्रन र सुजतालाई छक्याउँदै गोल गरिन् भने तेस्रो गोलमा डिफेन्डर अनिशा राई बलमा पुग्न नसक्दा फाइदा उठाइन्। चौथो गोल मुन्की अक्तरको पासमा सुजताको सामुन्नेबाट गरिन्।

यस जितसँगै बंगलादेशले उमेर समूहको साफ फुटबलमा पाँचौं उपाधि जितेको हो। यसअघि उसले दुईपल्ट यु–१९, एकपल्ट यु–१८ र यु–२० उपाधि जितेको थियो।

खेलमा पुनरागमन गरेकी सागोरिका तीन खेलको प्रतिबन्धपछि फर्केकी थिइन्। जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा उनी र नेपाली डिफेन्डर सिम्रन राईबीच हात हालाहाल र कपाल तानातान भएको थियो।