काठमाडौं - दक्षिण कोरियामा भइरहेको अविरल वर्षाका कारण अहिलेसम्म ४ जनाको ज्यान गएको छ ।  १३ सय भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अधिकारीहरूले यो असामयिक झरी अझै केही समय जारी रहने चेतावनी दिएका छन्।

मृतकमध्ये दुई जना ८० वर्ष उमेरका पुरुष छन्। तीमध्ये एकजनाले आफ्नै घरको बेसमेन्टबाट बाढीको पानी निकाल्ने प्रयास गरिरहेका बेला ज्यान गुमाएका हुन् भन्ने अनुमान गरिएको छ।

तेस्रो पीडितको कारमाथि पर्खाल खस्दा मृत्यु भएको हो। दुर्घटनाको केही क्षणअघि उनले पत्नीलाई फोन गरेर गाडी बगिरहेको बताएका थिए। चौथो व्यक्तिको हृदयघातका कारण मृत्यु भएको हो।

अभूतपूर्व वर्षा भएपछि दक्षिण कोरियाको सरकारले मौसमजन्य विपद् सतर्कता स्तर उच्चतम तहमा पुर्‍याएको छ।

सबैभन्दा प्रभावित क्षेत्र सिओसानमा केवल आधा दिनमै ४ सय  मिमीभन्दा बढी पानी परेको छ। मौसम विज्ञान विभागले यो घटना शताब्दीमा एकपटक मात्र देखिने खालको वर्षा भएको जनाएको छ।

सामाजिक सञ्जालमा आएका तस्बिर र भिडियोहरूमा गाडीहरू र घरहरू पानीमा डुबेका देखिन्छन् । केही ठाउँमा फर्निचरहरू समेत बगिरहेका छन्।

मेरो घरको छानो बाहेक सबैथोक पानीमा ढाकिएको छ, प्रभावित क्षेत्रका एक बासिन्दाले अनलाइनमा लेखेका छन्।

स्थानीय समय अनुसार बिहीबार दिउँसो ४ बजेसम्ममा १३ सय भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

अधिकारीहरूले नदी किनार,पहाडी क्षेत्र र भुइँतल्लाका संरचनाबाट टाढा रहन अनुरोध गरेका छन् र भूक्षय र अचानक बाढीको जोखिम अझै उच्च रहेको बताएका छन्।

दक्षिण कोरियाको मौसम विभागका अनुसार उत्तरपश्चिमबाट आएको सुख्खा हावा र दक्षिणबाट आएको तातो र चिस्यानयुक्त हावाको मिलनले असाधारण रूपमा ठूलो वर्षा भएको हो । 

यद्यपि मौसमविद्हरूको अनुमान अनुसार आगामी साताबाट फेरि तापक्रम बढ्नेछ र गर्मीको लहरको सम्भावना समेत रहेको छ।