काठमाडौं - नेपालले साफ महिला यु-२० च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७-० गोलअन्तरले पराजित गरेको हो । 

यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७-० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ ।

श्रीलङ्विरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई-दुई गोल गरे । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गरे ।

खेलको १६औं मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गरिन् । त्यस्तै खेलको ३५औं मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४२औं मिनेटमा सरिताले तेस्रो गोल गरिन् । खेलको ४५औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन् ।

मध्यान्तरपछि खेलको ६६औं मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाइन् । खेलको ७४औं मिनेटमा समीक्षाले गोल गरिन् । खेलको ७८औं मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दै ७–० गोलअन्तरले विजयी दिलाइन् ।

नेपालले अब शनिबार भुटानसँग खेल्नेछ ।