अमेरिकी राज्य अलास्काको तटमा बुधबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७ बजे स्यान्ड पोइन्ट टापुबाट ८७ किलोमिटर दक्षिणमा, १२.५ माइल गहिराइमा गएको हो।
भूकम्पपछि दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरिएको थियो । तर पछि सुनामी चेतावनीलाई फिर्ता लिइयो ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पपछि एक दर्जनभन्दा बढी परकम्प महसुस गरिए, जसमा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको थियो। स्यान्ड पोइन्टमा अधिकतम ६.१ सेन्टिमिटर (०.२ फिट) उचाइको सुनामी मापन गरिएको थियो।
प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय अधिकारीको निर्देशन नआएसम्म सतर्क रहन आग्रह गरेको छ।
अलास्का भूकम्पीय रूपमा सक्रिय 'रिङ अफ फायर' क्षेत्रमा पर्ने भएकाले यहाँ शक्तिशाली भूकम्पहरू बारम्बार आइरहन्छन्। सन् १९६४ मा यहाँ ९.२ म्याग्निच्युडको भूकम्पले एन्कोरेज सहर ध्वस्त पार्दै व्यापक जनधनको क्षति गरेको थियो।



0 comment