काठमाडौं - राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिको र युरोपेली संघबाट आयात हुने उत्पादनहरूमा ३० प्रतिशत सम्मका नयाँ शुल्क लगाउने धम्की दिएका छन्।
यी दुई अमेरिकाका ठूला व्यापारिक साझेदार हुन्। ट्रम्पले जनवरीमा पुनः पदभार ग्रहण गरेयता सुरु गरेको कर अभियानले विश्वव्यापी व्यापारलाई उल्टपुल्ट पारेको छ।
अमेरिका युरोपेली संघसँग सहकार्य गर्न तयार छ,यद्यपि तपाईंहरूसँग हामीलाई ठूलो व्यापार घाटा छ, ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। यो पत्र उनले ट्रुथ सोसलमा सार्वजनिक गरेका थिए। तर अब हामी निष्पक्ष र सन्तुलित व्यापारका साथ अगाडि बढ्ने निर्णयमा पुगेका छौं। उनले लेखेका छन् ।
ट्रम्पले यस वर्ष आफ्ना व्यापारिक साझेदारहरूमाथि कहिले रोक्दै,कहिले बढाउँदै,घटाउँदै विभिन्न कर लगाउँदै आएका छन् । जसले नीतिमा व्यापक अनिश्चितता ल्याएको छ। यसले ठूला राष्ट्रदेखि लिएर साधारण अमेरिकी नागरिकसम्म व्यापार योजनामा अन्योल ल्याएको छ।
युरोपेली संघ र मेक्सिको पनि अब ती देशहरूको सूचीमा सामेल भएका छन्, जसका आयात वस्तुहरूमा अगस्ट १ देखि नयाँ कर लागु हुनेछ। ट्रम्पले सोमबारदेखि सार्वजनिक गरिरहेका पत्रहरूमा ४० प्रतिशत सम्मका करको दर उल्लेख गरिएको छ।
युरोपेली संघ र मेक्सिकोलाई पठाइएको पत्रमा ट्रम्पले सबै आयातहरूमा सेक्टोरल ट्यारिफ जस्तै २५ प्रतिशत अटोमोबाइल कर बाहेक अन्यमा ३० प्रतिशत कर लागु हुने बताएका छन् ।
भोन डर लायनले भनेकी छन् कि ईयु “सम्झौतामा पुग्ने आशामा वार्ता गर्न तयार” छ। तर ३० प्रतिशत करले आपूर्ति श्रृंखला,व्यवसायहरू र उपभोक्तामाथि गम्भीर असर पार्ने भएकाले, ईयुले आफ्ना हितहरू जोगाउन आवश्यक सबै कदम चाल्नेछ जसमा उपयुक्त प्रतिकारात्मक उपायहरू पनि समावेश हुने बताएका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले एक्समा पोस्ट गर्दै भनेका छन् कि युरोपेली आयोगले सशक्त रूपमा युरोपेली हितहरू जोगाउनु पर्छ। उनले अगस्ट १ सम्म कुनै सम्झौता नभएमा प्रतिशोधका लागि तयारी तीव्र गर्न आह्वान गरेका छन्।
म्याक्रों र भोन डर लायनका भनाइ युरोपेली संघका अन्य अधिकारीहरूले पनि दोहोर्याएका छन् जसले ट्रम्प प्रशासनको व्यापारिक दबाब र अनिश्चित नीतिमाथि सार्वजनिक रूपमा कडा प्रतिवाद गरेका छन्।
मेक्सिकोका उत्पादनहरू प्रायः अमेरिका -मेक्सिको-क्यानडा सम्झौता अन्तर्गत शुल्क मुक्त रूपमा अमेरिका प्रवेश गर्दै आएका छन्।
“मेक्सिकोले मलाई सीमामा सघाउँदै आएको छ,तर त्यो पर्याप्त छैन,” ट्रम्पले लेखेका छन्।
मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले एक्समा मा लेखेका छन् कि अमेरिकी अधिकारीसँगको शुक्रबारको बैठकमा “नयाँ करको दर लागू गर्नु अनुचित व्यवहार हो” भन्ने कुरा मेक्सिकन प्रतिनिधिमण्डलले प्रष्ट पारेको छ। यद्यपि दुवै देश व्यापार र रोजगारी जोगाउन वैकल्पिक समाधान खोज्ने प्रयासमा छन्।
राष्ट्रपति शेनबाउमले शनिबार गुआयमास शहरमा दिइएको एक भाषणमा भनेकी छन्, “पत्रमा स्पष्ट रूपमा भनिएको छ कि सम्झौता गर्न सकियो भने कर लागू हुने छैन,” र आफू अमेरिका सँग राम्रो व्यापार सम्झौता गर्न सक्नेमा विश्वस्त रहेको बताइन्।
शुक्रबार मिति राखिएका करका पत्रहरूमा ट्रम्पले चेतावनी दिएका छन् कि अमेरिका विरुद्ध ट्यारिफको रूपमा गरिएको कुनै पनि जवाफी कारबाहीमा अमेरिकाले झन् कडा प्रतिक्रिया दिनेछ। “तपाईंहरूले कर जतिसुकै प्रतिशत बढाउनुभयो भने पनि, त्यो प्रतिशत हामीले तोकेको ३० प्रतिशतमा थपिनेछ,” ट्रम्पले लेखेका छन्।
ट्रम्पले कर र गैर-कर बाधाहरू दुबैलाई ईयु र मेक्सिकोमाथि कर लगाउने अन्य कारणको रूपमा पनि दोष दिएका छन्।



0 comment