आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ।

छनोट चरणमा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । जसलाई तीन–तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ। प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। 

समूह १ मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ छन्।

समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा प्रवेश पाउनेछन्, जुन अक्टोबर १२ देखि १७ सम्म सञ्चालन हुनेछ। सुपर सिक्सबाट उत्कृष्ट टोलीले अन्तिम विश्वकपको टिकट पाउने सम्भावना रहेको छ।यस प्रतियोगितालाई आगामी वर्षको टी–२० विश्वकप २०२६ अष्ट्रेलिया र भारतमा हुने मुख्य प्रतियोगिताको छनोटका रूपमा हेरिएको छ।