काठमाडौं - शुक्रबार आएको बाढीमा परी टेक्सासमा कम्तीमा ७८ जनाको मृत्यु पुष्टि भएको छ भने अन्य ४१ जना अझै बेपत्ता छन्।
७८ जना मृतक मध्ये २८ जना बालबालिका रहेका छन् । सो क्षेत्रमा रहेको नदी किनारको ख्रीष्टियन बालिका क्याम्प क्याम्प मिस्टिक बाढीले पूर्ण रूपमा डुबाएको थियो। त्यहाँबाट १० जना बालिका र एक जना सल्लाहकार अझै बेपत्ता छन्।
अधिकारिहरूका अनुसार मृतक संख्या अझै बढ्न सक्छ।
आगामी २४ देखि ४८ घण्टाभित्र सो क्षेत्रमा थप आँधी र वर्षाको सम्भावना छ जसले पहिल्यै नै कठिन परिस्थितिमा काम गरिरहेका उद्धारकर्मीहरूको कार्यमा थप अवरोध पुर्याउन सक्छ।
ती उद्धारकर्मीहरू हिलो र भग्नावशेषमा विषालु सर्पसँग जुध्दै खोजी कार्य गरिरहेका छन्।
बाढी आएको तीन दिनपछि टेक्सासको हालसम्मकै एक ठूलो खोज तथा उद्धार अभियान जारी छ ।
केर काउन्टीमा फेला परेका मृतकमध्ये १८ जना वयस्क र १० जना बालबालिकाको औपचारिक पहिचान हुन बाँकी छ।
टेक्सासका गभर्नर ग्रेग एबटले आइतवार भने “एक जना पनि बेपत्ता व्यक्ति बाँकी नरहोस् भन्ने सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्दैनौं।”
बाढीपछि भारी उपकरण प्रयोग गरी भग्नावशेष हटाउने कार्य भइरहेको छ।
"ती साना बालबालिकाले जुन पीडा भोगे, त्यो एकदमै भयावह थियो,” एबटले भने, जसले एक दिनअघि बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका थिए।
खोजीको मुख्य केन्द्र ‘क्याम्प मिस्टिक’ रहेको छ जुन ग्वाडालुपे नदीको किनारमा रहेको लोकप्रिय बालिका ग्रीष्मकालीन शिविर हो र यो गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।
यो विपत्ति शुक्रबार बिहान सबेरै भएको थियो । जब ग्वाडालुपे नदी जम्मा ४५ मिनेटमै २६ फिट अर्थात ८ मिटर माथिसम्म बढेको थियो । त्यो बेला धेरैजसो शिविरका बालबालिका सुतिरहेका थिए।
केही बालबालिका र क्याम्पका पुराना निर्देशक रिचार्ड डिक इस्टल्यान्डको पनि यस बाढीमा मृत्यु भएको छ।



0 comment