काठमाडौं - एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमा समूह ‘ए’को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मलेसियामा मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो । जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेटायो ।

दोस्रो विकेटका लागि ओपनर प्रसिद्ध जैशी र विकेटकिपर शिवांश बजगाईंले ६९ बलमा ७६ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित हासिल गरेको हो । प्रसिद्ध ३३ र शिवांश ३८ रनमा अविजित रहे । प्रसिद्धले ३७ बलमा ३ चौका प्रहार गरे । शिवांशले ४२ बलमा ७ चौका हाने ।

अर्का ओपनर जय थापा १ रनमा क्याच आउट भए ।

जारी प्रतियोगितामा जापानको यो पहिलो हार हो । जापानी टोली ३४.३ ओभरमा ८० रन जोड्दा अलआउट भयो ।

समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रतियोगितामा नेपालसँग पराजित भएको जापान २ अंकसहित दोस्रो स्थानमा हुँदा सिंगापुर तेस्रो स्थानमा छ ।

आजै भएको अर्को खेलमा सिंगापुरले इन्डोनेसियालाई ९ विकेटले नै हराएको छ । समूह बीको अर्को खेलमा मलेसियाले माल्दिभ्सलाई ९ विकेटले नै जितेको छ ।