काठमाडौं - नेपालकी भगवती खड्काले पाकिस्तानको कराचीमा भएको आरईडब्ल्यू रेस्लिङको महिला सिंगल्स म्याचमा उपाधी जितेकी छन् ।
रेस्लिङमा युनिका उपनामले चिनिने भगवतीले पाकिस्तानकी बेगिसालाई पराजित गरिन् । भगवतीका अनुसार पाकिस्तानमा महिला रेस्लिङ पहिलोपटक भएको हो । २०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरेकी छन् ।
अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हराएकी छन् । भगवतीले भारत र जापानमा पनि खेलेकी थिइन् ।
समापनका अवसरमा कलाकार समेत रहेकी भगवतीले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन् । आरईडब्ल्यू रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो । सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबीच भएको थियो ।
भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा पनि समावेश गरिएको छ । भगवती आफैं अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकामा वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा नाम समावेश गरिएको हो ।
गत जेठ १६ (मे २९) ‘एभरेस्ट डे’ का अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् ।


0 comment