काठमाडौं - आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको शृंखलामा नेपालले तेस्रो जित निकालेको छ ।
स्कटल्यान्डको डन्डीमा मंगलबार भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्यो ।
नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो ।
‘डेब्यु’ खेलमै नन्दन यादवले घातक बलिङ गरेपछि नेपाल नेदरल्यान्ड्सविरुद्ध नेपालले जित निकाल्न सफल भयो । पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । डच टोलीमाथि नेपालको यो दोस्रो जित हो ।
स्कटल्यान्ड भ्रमणका क्रममा नेपालले लिग-२ को चारमध्ये तीन खेलमा जित निकालेको छ । पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको नेपाली टोली दोस्रो खेलमा भने घरेलु टोलीसँग २ रनले पराजित हुन पुगेको थियो ।
नेपाललाई १० रन पेनाल्टी दिएपछि ब्याटिङ नै सुरु नगरी १० रन जोडेको नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले सबैभन्दा बढी ३६ रन जोडे ।
नेपालको जितमा डेब्यू खेलाडी नन्दनले ३ विकेट लिन सफल भए । तीव्र गतिका बलर नन्दनले ९ ओभरमा १ मेडन राख्दा ३९ रन मात्र खर्चिए । नन्दनले ४७ ओभरमा दुई विकेट लिए पनि नेपालको आशा बढेको थियो । सो ओभरमा नन्दनले भान मर्वीलाई १६ रन र केल केलिनलाई २५ रनमा आउट गरेपछि नेदरल्यान्ड्सको अन्तिम विकेट मात्र बचेको थियो । अन्तिम विकेटका रुपमा करण केसीले पल भानलाई अन्तिम ओभरको दोस्रो बलमा क्याच गराएपछि खेल नेपालको पक्षमा आयो ।
नन्दनसँगै सन्दीप लामिछानेले पनि ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा १ मेडन राख्दा २९ रन मात्र खर्चिए भने २ विकेट लिन सफल भए । कुशल भुर्तेल र करण केसीको नाममा १-१ विकेट रह्यो ।
स्कटल्यान्डको डन्डीमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २३६ रन जोड्यो ।
नेपालका लागि आरिफ सेखले अर्धशतक प्रहार गरे । आरिफले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८४ रन जोडे । त्यसअघि नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल १८ रन र अनिल साह २ रनमा आउट भए । सिरिजमा पहिलो अवसर पाएका अनिलले १६ बल खेल्दा निकै दबाब महसुस गरे ।
सात ओभरमा दुई विकेट गुमाएको नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।
बलिङमा नेदरल्यान्ड्स लागि पल भानले ४ विकेट लिन सफल भए । माइकल लेभिटले ३ विकेट हात पार्दा आर्यन दत्तले १ विकेट लिए ।
जितसँगै नेपाल लिग-२ को अंक तालिकामा १६ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा छ ।


0 comment