काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको विवाद सार्वजनिक रुपमा नै चर्किएको छ ।

विश्वका सबैभन्दा शक्तिशाली नेता र सबैभन्दा धनी व्यक्तिबीचको "ब्रोम्यान्स" पनि अब समाप्त भएको छ ।
एक हप्ता भन्दा बढी समयदेखि मस्कले ट्रम्पको मुख्य कानूनी उपलब्धि खर्चसम्बन्धी विधेयकको आलोचना गर्दै आएका छन् र त्यसविरुद्ध सक्रिय रूपमा लबिङ समेत गरिरहेका छन् ।

बिहीबार जब ट्रम्पले ओभल अफिसमा जर्मन नेतासँग भेट्ने क्रममा पनि मस्कप्रति आफ्नो निराशा स्पष्ट रूपमा व्यक्त गरेका थिए । ट्रम्पले मस्कप्रति आफू “धेरै निराश” भएको समेत बताएका छन् ।

त्यसको जवाफमा मस्कले X मा आरोपहरूको श्रृंखला सार्वजनिक गरे । “म बिना ट्रम्पले चुनाव हार्ने थिए।” भनी टिप्पणी समेत गरेका छन् ।

ट्रम्पले पनि सामाजिक संजालमा पटक–पटक प्रतिक्रिया दिँदै भनेका छन् कि मस्क पागल भएर उनलाई प्रशासनबाट बाहिर पठाइएको थियो । उनले मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता काट्ने धम्की समेत दिएका छन्।

यो सार्वजनिक विवादको बीचमा टेस्लाको सेयर मूल्य १४ प्रतिहतले घटेको छ  जसका कारण मस्कको इलेक्ट्रिक सवारी साधन कम्पनीको बजार मूल्य १ ट्रिलियन डलरभन्दा तल झर्‍यो।

यो झगडा त्यतिबेला सार्वजनिक भयो जब मस्कले गत हप्ता आधिकारिक रूपमा आफ्नो सरकारी पद छाडे जहाँ मस्क सरकारी दक्षता विभागको प्रमुखको रूपमा रही सरकारी फजुल खर्च नियन्त्रण गर्ने अभियानमा थिए।