काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक आयोग भएकाले यसको स्वतन्त्रता र निष्पक्षता कायम राख्नुपर्ने बताए । उनले प्रश्न गरे, ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’
अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुग्ने विषयसमेत उचित नभएको उनको भनाइ थियो । सरकारमाथि निगरानी राख्ने तथा शक्ति सन्तुलन कायम गर्ने उद्देश्यले गठन भएको संवैधानिक निकायका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा पुग्ने अवस्थाले आयोगको स्वतन्त्रतामाथि प्रश्न उठाउने उनले बताए ।
गत असारको पहिलो साता अख्तियारका पदाधिकारी तथा कर्मचारीको टोली प्रधानमन्त्री कार्यालय पुगेको थियो । उक्त क्रममा अख्तियारका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले घन्टौंसम्म कार्यालयमा राखेर केरकार गरेको भन्दै प्रश्न उठेको थियो ।
सोही घटनाको पृष्ठभूमिमा सांसद सिंहले अख्तियारको संस्थागत स्वतन्त्रता र प्रधानमन्त्री कार्यालयसँगको सम्बन्धबारे प्रश्न उठाएका हुन् । उनले संवैधानिक निकायले आफ्नो भूमिका स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।


0 comment