काठमाडौं - नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा हङकङसँग बराबरी खेलेको छ। घरेलु टोली हङकङको नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको हो।
हङकङले नेपालको पोस्ट्मा लगातार आक्रमण गरे पनि कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए। जसका कारण हङकङले गोल गर्न सकेन। नेपालले पनि केही राम्रो अवसर बनाए पनि गोल भने गर्न सकेन।
नेपालले रक्षात्मक खेल खेल्दै हङकङलाई बराबरीमा रोकेको हो। नेपालका मणि लामाले इन्जुरी समयमा दोस्रो पहेंलो (रातो) कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। दोस्रो हाफको ८२औं मिनेटमा मुख्य शिक्षक म्याट रसले सिर्जनराज गौतमलाई अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गराएका थिए। उनी अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका थिए।
नेपालले ३७ वर्षपछि हङकङसँग सिनियर स्तरमा फुटबल खेलेको हो। एएफसी एसियन कप छनोटको तयारीका लागि दुई राष्ट्रबीच मैत्रीपूर्ण खेल खेलिएको हो। एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।
किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा रोहित चन्द, जिलेस्पीजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बू, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छुन्जु, कुशल देउवा, मणिकुमार लामा, विशाल सुनार, मनिष डाँगी, लाकेन लिम्बू, रोहन कार्की, सनिश श्रेष्ठ, सिर्जनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमित श्रेष्ठ छन्।


0 comment