काठमाडौं - भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्न्यास घोषणा गरेका हुन्।

उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराइसकेका छन्। बीसीसीआइले भने उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो। उनले पछिल्लो पटक बोर्डर गावस्कर सिरिज खेलेका थिए। जहाँ उनको प्रदर्शन राम्रो हुन सकेको थिएन।

यसअघि अर्का स्टार ब्याटर रोहित शर्मालेपनि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए। पछिल्लो पाँच वर्षमा कोहलीले ३७ टेस्टमार्फत ३ शतक प्रहार गरेका छन्।

३६ वर्षीय कोहलीले टेस्ट क्रिकेटमा १२३ खेलबाट ९२३० रन बनाएका छन्। उनले आफ्नो इनिङमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्। विराट कोहलीले टेस्ट करिअरमा सर्वाधिक धेरै अस्ट्रेलियाविरुद्ध ९ शतक प्रहार गरेका छन्।