काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन क्लबहरुबीच हुने भनिएको नकआउट प्रतियोगिता नहुने भएको छ। 

यो प्रतियोगिता एएफसीको क्लब च्याम्पियनसिपको लागि छनोट प्रतियोगिता रहेको थियो। एन्फाले यो प्रतियोगिता प्राविधिक कारण देखाउँदै नहुने बताउँछ। 

वैशाख १० भित्र जम्मा ४ क्लबले मात्रै यो प्रतियोगिताका दर्ता गराउँदा अन्य क्लबहरुले भने यसमा चासो दिएका थिएनन्। 

ए डिभिजन लिगको प्रतिस्थापन भने यो लिग नरहेको एन्फाका प्रवक्ता सुरेश शाहले अन्नपूर्ण पोष्टलाई बताए। उनले भने,‘यो प्रतियोगिता ए डिभिजन लिगको भरपाइ थिएन। ए डिभिजन लिगको बारेमा अब हुने साधारण सभाले निर्णय गर्नेछ।’ एन्फाको वैशाख २६ गते बस्ने साधारण सभाले यस विषयमा निर्णय गर्नेछ।  

यो प्रतियोगिता नहुँदा यस वर्ष एएफसी क्लब च्याम्पियनसिपमा नेपालको कुनैपनि क्लबले प्रतिस्पर्धा गर्ने सम्भावना कमजोर बनेको छ।