काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति वार्तालाई तोडमोड गरेको आरोप लगाएका छन् ।

यसअघि जेलेन्स्कीले युक्रेनले क्रिमियामाथि रूसी नियन्त्रणलाई मान्यता नदिने बताएका थिए ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा युद्ध अन्त्य गर्ने सम्झौता ‘धेरै नजिक’ भएको दाबी गरे । तर जेलेन्स्कीले अमेरिकी सर्तहरू अस्वीकार गर्दा द्वन्द्व ‘लम्बिने’ देखिन्छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको लागि अमेरिकाको दृष्टिकोणको व्याख्या गर्दै भनेका थिए, ‘आज जहाँ क्षेत्रीय सीमाहरू छन् त्यहाँ स्थिरता ल्याउनेछ ।’

युक्रेनले लामो समयदेखि क्रिमिया नत्याग्ने बताउँदै आएको छ । रूसले यो क्षेत्र २०१४ मा अवैध रूपमा कब्जा गरेको थियो ।