काठमाडौं - आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ।
शनिबार बिहान मलेसियामा तय भएको खेल मैदानको अवस्था नाजुक बनेपछि अम्पायरले खेल नहुने घोषणा गरेका हुन्। बिहानको झरीपछि मैदान सुकाउन करिब पाँच घण्टा प्रयास गरिए पनि केही भाग खेल्न अयोग्य रहेको भन्दै तीनपटक निरीक्षणपछि खेल स्थगित गरिएको हो।
समूह चरणमा नेपाल र अफगानिस्तान दुवैले तीन–तीन खेल जितेका थिए। तर अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि रहेकाले अंक बराबरी (७–७) भए पनि उनीहरू विश्वकपमा छनोट भएका छन्।
खेल रद्द भएसँगै नेपाली क्रिकेट समर्थकहरू आक्रोशित बनेका छन्। खेल रद्द भएको खबरसँगै समर्थकहरूले क्यान, एसीसी र आईसीसीमाथि नाराबाजी गरेका थिए। उनीहरूले व्यवस्थापनमा कमजोरी भएको आरोप लगाउँदै चर्को विरोध जनाएपछि प्रहरी परिचालन गरी समर्थकहरूलाई सम्झाइबुझाइ गरिएको थियो।
बिहानैदेखि मैदानमा उपस्थित समर्थकहरू खेल सुरु हुने आशामा पर्खिरहेका थिए। एक समय घाम लागेपछि खेल सम्भव हुने संकेत देखिएको थियो, तर मैदान पूर्णरूपमा तयार हुन नसक्दा अम्पायरले अन्ततः खेल रद्द गर्ने निर्णय लिएका थिए।
यो नतिजाले नेपाललाई आगामी यू–१९ विश्वकपबाट बाहिर पुर्याएको छ, जसले खेलाडी, प्रशिक्षक, र समर्थक सबैमा निराशा छाएको छ।



0 comment