काठमाडौं - यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

साहिल पटेल र नीरज यादवको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले एसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत सोमबार ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । पटेलले ४२ बलमा ४४ र यादवले ३१ बलमा ४६ रनको योगदान गरे । नरेन भट्ट १२ तथा सन्तोष यादव १० रनमा अविजित रहे ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा ३८औं ओभरमा ११७ रन बनाउँदा ओमान अलआउट भएपछि नेपालले ११८ रनको लक्ष्य पाएको थियो । जुन १४.३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओमानका सौम्या भाविन सम्पतले २ विकेट लिए । त्यसअघि युवराज खत्रीको घातक बलिङसामु ओमान निर्धारित ५० ओभरसम्म पनि टिक्न सकेन ।

यसअघि नेपालले पहिलो खेलमा हिजो (आइतबार) यूएईलाई ५ रनले पराजित गरेको थियो । ओमानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अफगानिस्तानसँग ओमान ८ विकेटले पराजित भएको थियो ।