काठमाडौं - हङकङमा भएको चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा कुवेतले नेपाललाई ३ रनले पराजित गर्दै ऐतिहासिक जित हात पार्न सफल भएको छ। आइतबार सम्पन्न फाइनल खेलमा कुवेतले नेपालमाथि रोमाञ्चक जित दर्ता गर्दै सिरिजको उपाधि उचालेको हो।
योसँगै टी–२० क्रिकेटमा कुवेतले पहिलोपटक नेपाललाई पराजित गर्न सफल भएको छ। यसअघि भएका दुवै खेलमा नेपाल विजयी हुँदै कुवेतमाथि आफ्नो दबदबा कायम राखेको थियो। तर, फाइनलको निर्णायक भिडन्तमा नेपालले लय कायम राख्न नसक्दा लज्जास्पद हार बेहोर्नुपर्यो।
१७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। इनिङको सुरुवातदेखि नै विकेटको गतिशीलता नरोकेपछि नेपाल दबावमा परेको थियो।
तर, नवौं विकेटका लागि बसिर अहमद र नन्दन यादवले ७३ रनको विस्फोटक साझेदारी गर्दै नेपाललाई जितनजिक पु-याएका थिए। बसिरले ४३ बलमा आठ चौका र चार छक्कासहित ८० रन बनाउँदा, नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए।
अन्तिम ओभरमा नेपाललाई जितका लागि तीन रन आवश्यक थियो। तर, क्लिन्टो एन्टोको बलमा बसिर क्याच आउट भएपछि नेपालको जितको आशा चकनाचुर भयो।
कुवेतका बलरहरूमध्ये अनुदीप चेन्थमराले सबैभन्दा प्रभावशाली प्रदर्शन गरे। उनले २.३ ओभरमा १८ रन खर्चेर तीन विकेट लिए। यसिन पटेल र नवीनराज राजेन्द्रनले दुई–दुई विकेट लिए भने मोहम्मद अस्लमले एक विकेट लिए।
नेपालका बलिङतर्फ नन्दन यादव र सोमपाल कामीले समान दुई–दुई विकेट लिए भने करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए।
नेपालका लागि यो हार निराशाजनक भए पनि बसिर र नन्दनले देखाएको संघर्षले आशा जगाएको छ।



0 comment