प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि यसका ब्याख्याकारहरुले नागरिकहरु भेला हुन पाउने, आफनो विचार स्वच्छन्द रुपबाट राख्न पाउने, विचारको आधारमा संगठीत हुन पाउने स्वतन्त्रतालाई प्रजातन्त्र भन्ने गर्छन् । जब राज्यले यस्ता कुरामा बन्देज लगाउँछ आन्दोलनहरु Clandestine याने भूमीगत हुन पुग्दछन् । 

नेपालमा २०१७ देखि २०४६ सम्म एकतन्त्रिय पञ्चायत व्यवस्थाको राज थियो । दलगत कुरा अनि कामहरु खुला रुपमा गर्न बन्देज भएकै कारण यस्ता भेला की भूमीगत रुपमा कि विदेशी भूमीमा वा त्यहाँबाट हुने गर्थ्यो । नेपाली कांग्रेसले पारी पट्टिबाट आएर राजा महेन्द्र चढेको जीपमा बम हानेको घटना होस् वा विमान अपहरण गरी ३० लाख लुटेको कुरा होस् वा मालेले धर्म ढकालको टाउको काटी शुरु गरेको नक्सलवादी आन्दोलन होस् ती सबै Clandestine Movement कै परिणती थियो । 

२०५२ सालबाट माओवादी भनिनेहरुले जनयुद्ध शुरु गरे, १७ हजारले ज्यान गुमाए, खरबौँको संरचना ध्वस्त भयो । त्यो पनि Clandestine Movement थियो, वैधानिक आन्दोलन थिएन । राज्य विरुद्धको सबै खाले विप्लव Clandestine हुने गर्छन् ।

नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने नाममा हाल आएर आन्दोलन शुरु भएको छ । गणतान्त्रिक संवैधानिक व्यवस्थामा राजतन्त्रको वकालत सडक वा संसद जहाँ गरेपनि यसलाई सिद्धान्त र मान्यता अनुसार वैधानिक मान्न सकिँदैन । तर, कहिँ नभएको जात्रा हाँडी गाउँमा भने झैँ चैत्र १५ को तिनकुनेको भेला गर्ने स्वीकृति स्थानीय  प्रशासनले दिएको र कार्यक्रम शुरु हुनासाथ अश्रुग्यास छोड्ने र गोलि हान्ने सम्मको कार्य राज्यपक्षबाट हुन गयो । त्यसको सोझो अर्थ के लाग्छ भने, राज्यले राजतन्त्र चाहने सबैलाई एकठ्ठा हुन दिनुको पछाडि वैधनिक रुपमा नै उनीहरुको सामूहिक हत्या गर्ने योजना बनाएको रहेछ भन्ने स्पष्ट हुन्छ ।

अहिले आएर त्यसको छानविन गर्न आवश्यक उच्च स्तरको न्यायिक समिति बनाउन पनि नचाहनुले सामूहिक हत्याको योजना झनै प्रमाणित रुपमा आफैँ प्रकट  भएको छ । यहि बुझेर नै र आफ्नो हत्या हुने देखेर नै आन्दोलनका कमाण्डर आन्दोलनको नेतृत्व गर्दागर्दै भूमीगत बन्न पुगे । त्यो स्वभाविक हो ।

अब यदि यस आन्दोलन अघि बढ्छ भने त्यसको रुप स्वतः Clandestine हुनेछ । भद्र अवज्ञा वा सत्याग्रहबाट यो आन्दोलन अघि बढ्न पनि सक्तैन । बढेपनि यसले कुनै नतिजा निकाल्न पनि सक्तैन . किनकि देश अब Clandestine Movement को भूमरीमा परिसक्यो ।