आजको नेपालमा पनि व्यवस्थाका ठेकेदार भन्दै छन् – के भा’को छ र !, केहि भा’छैन, केहि हुँदैन । मैले यो भनिरहँदा, यो नबुझियोस् कि म नेपालमा पनि बङ्गलादेश र श्रीलङ्काको आन्दोलन जस्तै यहाँ होस् भन्ने चाहन्छु । म जे हुन्छ, शान्तिपुर्वक होस् , कोहि नमरून् , कोहि घाइते नहुन् नै चाहन्छु र त्यसकै लागि कामना पनि गर्दछु । 
चैत्र १५ गतेको आन्दोलनमा जनसहभागिताको हिसावमा दुर्गा प्रसाईंले प्रचण्डलाई उछिनेका छन र यही दिनबाट नेपालमा “प्रचण्ड“ युगको अन्त्य शुरू भएको भन्दा फरक नपर्ला । दुई शक्तिबीचको शक्ति संघर्षको परिणामले मुलुक कता जान्छ, त्यो भन्न सक्ने अवस्थामा म छैन । कुराहरू, मेरो चाहना अनुसार हुने पनि होइन र मेरो चाहना के हो, इतिहासको यो घडिमा सायद अत्यन्तै गौण होला । तर पनि नेपाली नागरिकको हैसियतमा चाहना राख्ने अधिकार मसँग पनि छ । 


पछिल्ला हप्ताहरूमा थुप्रै सासंद र नेतासँग कुरा गरे, छातीमा हात राखेर भन्नु भने –“यो व्यवस्थाले देश बन्छ वा बन्दैन ?“ सबैले एउटै जवाफ दिए, यहि व्यवस्थाले देश बन्दैन । यहि व्यवस्थामा जनताको अवस्था बदल्न सकिन्छ कि भनेर, आश राखेर मैले पनि राजनीति शुरू गरेकै हो , पार्टी स्थापना गरेकै हो । तर यो व्यवस्था जति बुझ्दै गइयो, अनुभवले जति दियो, बाहिर बोल्न नसके पनि भित्र भित्रै यहि व्यवस्थामा परिवर्तन सम्भव छैन भनेर स्पष्टै भइसकेको छु । जनता जसरी जागे, त्यस आधारमा हिम्मत गरेर भन्दै छु –यो व्यवस्थामा देश बन्दैन, बन्दै बन्दैन । यो व्यवस्थामा देश बन्दैन भनिराख्दा, एउटा कुरा पनि राख्न चाहे – राष्ट्रपतिको ठाउँमा राजा राख्दैमा व्यवस्था बदलिएको हुँदैन । यो त शिरमा लगाएको टोपि परिवर्तन गरेको जस्तो मात्रै हो । शिरको टोपि राजाको लाउनुहोस्, वा राष्ट्रपतिको , तर टाउकोदेखि शरीरसम्मका थुप्रै अङ्गको यहाँ उपचार आवश्यक छ । व्यवस्थाभित्रको अवस्था बदल्नका लागि, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्दछ, न्यायलय, अख्तियार लगायत निकायमा हुने दलीयकरण अन्त्य गर्दै छिटो छरितो न्याय सेवा र शक्तिशाली अख्तियार बनाउनु पर्छ, इन्तु, किन्तु, परन्तु केहि नभनि प्रदेश खारेज गर्नु पर्दछ, झन्टझटिलो सार्वजनिक सेवाको आमुल रूपान्तरण गर्नुपर्छ, निर्वाचन प्रणाली बदल्नु पर्दछ, जनताको माग – सनातन हिन्दूत्वको पहिचान कायम गर्नुपर्दछ, राइट मेन एट राइट प्लेस हुने गरि राजनीतिक हस्तक्षेप मुक्त राज्यका सेवामा नियुक्ति, सरूवा, बढुवाको प्रणाली स्थापना गर्नुपर्दछ । 


गणतन्त्रलाई सुधार गर्दै माथिका बुँदा पूरा हुन्छन् भने सुधारिएको गणतन्त्रको पक्षमा नै उभिउँला । होउन, गणतन्त्रका नाइकेले यी पूरा गर्दैनन् र राजाले पूरा गरिदिन्छन् भने राजा नै ठीक होलान् । व्यवस्थाको टोपि मात्र परिवर्तन गर्ने , बाहिर लगाउने वस्त्र मात्र परिवर्तन गर्ने हो भने त्यसमा मेरो असहमति छ । सिङ्गो शरीरको उपचार गर्न जरूरी छ । व्यवस्थालाई नाममा मात्र होइन, साँच्चै नै परिवर्तन गर्न जरूरी छ । अहिलेको व्यवस्थाको ठेकेदारहरूले माथि उल्लेख गरे अनुसार संविधान संसोधन गर्न तयार भएनन् भने, म जस्तो बीचमा बसेर , के गरौँ, कसो गरौँ भन्नेहरू पनि व्यवस्थाको पक्षबाट व्यवस्था परिवर्तनको पक्षमा उभिन बाध्य हुनुपर्ने हुन्छ ।